सूचनाको शक्ति - The Power Of Information

        

तलकोट गाउँपालिकामा भर्ना गरिँदै ‘गाउँ प्रहरी’

बझाङको तलकोट गाउँपालिकाले गाउँ प्रहरी भर्ना प्रक्रिया सुरु गरेको छ । गाउँपालिकाका योजना कार्यान्वयनका बेला देखिने सुरक्षा समस्या, शान्ति, सुरक्षा र अमनचयन सार्वजनिक सम्पत्तिको रेखदेख तथा संरक्षणका लागि गाउँ प्रहरी भर्ना गर्न थालिएको हो ।

गाउँ प्रहरी गठन सम्बन्धी ऐन तयार गरेर तलकोट गाउँपालिकाले कार्यान्वयनमा ल्याएको हो । बझाङका १२ स्थानीय तहमध्ये प्रहरी भर्ना गर्ने जयपृथ्वी नगरपालिका पहिलो र तलकोट गाउँपालिका दोस्रो हो ।

‘कार्यालयमा भीड लाग्दा व्यवस्थापन गर्नेसमेत कोही छैन, कहिलेकाहीँ अनावश्यक मान्छेले दुःख दिन्छन्,’ गाउँपालिका अध्यक्ष कलकबहादुर रोकायाले भने, ‘ठूला समस्या आउँदा नेपाल प्रहरी छ । स–साना समस्या त हाम्रो प्रहरी पनि सक्रिय रहन सक्छ ।’ गाउँपालिकाले सात जना गाउँ प्रहरी जवानको भर्ना प्रकिया सुरु गरेको छ ।

अहिले भर्ना भएका प्रहरीले कार्यालय र सार्वजनिक सम्पत्तिको संरक्षणको काममा लाग्नेछन् । नेपाल प्रहरीले गाउँपालिकाभित्रको शान्ति सुरक्षामा सहयोग गर्ने भए पनि गाउँका कतिपय काममा नेपाल प्रहरीलाई सहयोग माग्न नसकिएको अध्यक्ष रोकायाले बताए । गाउँपालिकाले गाउँ प्रहरी भर्नाको लागि १५ दिने सूचना प्रकाशित गरेको छ ।

गाउँपालिकाभित्र कुनै अभियोग नलागेका कानूनले अयोग्य ठहर नगरेका विपन्न बेरोजगार युवालाई समेत प्राथमिकता दिइने सूचनामा उल्लेख गरिएको छ । गाउँ प्रहरीको काम, कर्तव्य पनि करिब नेपाल प्रहरीसँग मिल्दोजुल्दो रहेको छ । गाउँ प्रहरीको पारिश्रमिक गाउँपालिकाले तोके बमोजिम हुनेछ भने सेवा निवृत्त भूतपूर्व प्रहरी कर्मचारीले पनि गाउँ प्रहरीका लागि आवेदन दिन सक्ने छन् ।

प्रकाशित मिति : १७ चैत्र २०७९, शुक्रबार १०:२३