सूचनाको शक्ति - The Power Of Information

        

यातायातमा खल्बलियो लाइसेन्स सेटिङ्ग

नक्कली बील थमाएर सर्वसाधारण ठग्दै यातायातका विचौलिया

कतिपय विचौलियाले यातायात व्यवस्था कार्यालय बाँकेका कर्मचारीकै मिलेमतोमा सर्वसाधारणलाई नक्कली बील थमाएर ठगीधन्दा मच्चाइरहेका छन् ।

बाँके जिल्लाबाट सवारी चालक अनुमतिपत्र (लाइसेन्स) सम्बन्धी लिखित र प्रयोगात्मक परीक्षाका काम तत्कालका लागि रोकिएका छन् । जिल्ला ट्राफिक प्रहरी कार्यालयमा नयाँ हाकिम आएसँगै लाइसेन्स परीक्षा सम्बन्धी सबै काम बन्द भएका छन् ।

यातायात व्यवस्था कार्यालय बाँकेले सूचना नगरेरै लाइसेन्सको लिखित र प्रयोगात्मक परीक्षा बन्द गरेपछि सेवाग्राहीलाई समस्या भएको छ । लामो समयपछि सञ्चालन भइरहेका लिखित र प्रयोगात्मक परीक्षा एकाएक रोकिएपछि सेवाग्राही मारमा परेका छन् ।

नियमितरुपमा सञ्चालन भइरहेको सवारी चालक अनुमतिपत्र सम्बन्धी लिखित र प्रयोगात्मक परीक्षा झण्डै तीन सातादेखि बन्द रहेका छन् । परीक्षाहरु के कति कारणले बन्द गरिएको भन्ने यातायात कार्यालयले अहिलेसम्म सेवाग्राहीलाई कुनै जानकारी गराएको छैन ।

यातायात व्यवस्था कार्यालयका नाममा जारी भएको नक्कली बीलहरु ।

जिल्ला ट्राफिक प्रहरी कार्यालयमा नयाँ हाकिम आएसँगै लाइसेन्सका परीक्षा सम्बन्धी सबै काम बन्द भएका छन् । प्रहरी निरिक्षक तिलकबहादुर सुनार जिल्ला ट्राफिक प्रहरी कार्यालयमा आएको केही दिनमै लाइसेन्स परीक्षा सम्बन्धी सबै काम बन्द भएका छन् ।

उनी प्रहरी प्रधान कार्यालयबाट २०७९ फागुन २६ मा काज सरुवा लिएर जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँके आएका हुन् । जिल्लामा नयाँ ट्राफिक प्रहरी प्रमूख आएसँगै नियमित सेटिङ्ग खल्बलिएको यातायात व्यवस्था कार्यालय बाँके स्रोतले बतायो ।

स्रोतले भन्यो, ‘नयाँ हाकिम आएपछि सेटिङ्ग खल्बलिएको छ । लाइसेन्स वितरणमा आधा दर्जन पक्षबीच सेटिङ्ग चल्छ । कुनै एउटा पक्ष सहमति नभएमा यातायात कार्यालय एक्लैले लाइसेन्स सम्बन्धी परीक्षा सञ्चालन गर्न सक्ने अवस्था नै हुँदैन ।’

यातायात व्यवस्था कार्यालयका नाममा जारी भएको नक्कली पत्र ।

लाइसेन्सका परीक्षा सञ्चालन गर्दा यातायात कार्यालय, ट्राफिक प्रहरी कार्यालय, ड्राइभिङ्ग इन्ष्टिच्युट, विचौलिया लगायत झण्डै आधा दर्जन पक्षबीच सेटिङ्ग नभएसम्म यातायात कार्यालय एक्लैले लाइसेन्स वितरण गर्न नसक्ने स्रोतको भनाई छ ।

यातायात कार्यालयका कर्मचारीकै मिलेमतोमा अहिले पनि विचौलियाहरुले लाइसेन्सको आवेदन भरिदिने र पास गराइदिने भन्दै नेपालगन्जका चोकचोकमा रकम असुलिरहेका छन् । स्रोतका अनुसार विचौलियाले तोकेरै सर्वसाधारणसँग रकम असुलिरहेका छन् ।

कतिपय विचौलियाले याताया कार्यालयका कर्मचारीकै मिलेमतोमा सर्वसाधारणलाई नक्कली बील थमाएर ठगीधन्दा मच्चाइरहेका छन् । ‘सेटिङ्ग मिलाएको’ भन्दै विचौलियाले लिखित र प्रयोगात्मक परिक्षामा पास गरिदिने ठोकुवा नै गरेर मोटो रकम असुलिरहेका छन् ।

यातायात व्यवस्था कार्यालय, बाँकेका कर्मचारी (अधिकृतस्तर सातौँ) पुरुषोत्तम पौडेल र कम्प्युटर अप्रेटर शोभा श्रेष्ठका नाममा बील तथा सम्बन्धीत पत्र तयार गरि ठगीधन्दा मौलाएको छ । कम्प्युटर अप्रेटर श्रेष्ठ हाल कार्यालयमा कार्यरत नरहेको बुझिएको छ ।

यातायात व्यवस्था कार्यालयका नाममा जारी भएको नक्कली बील ।

यातायात व्यवस्था कार्यालयका नाममा जारी भएको नक्कली बील ।

 

प्रकाशित मिति : १४ चैत्र २०७९, मंगलवार १४:१७