सूचनाको शक्ति - The Power Of Information

        

त्रिदेशीय एकदिवसीय श्रृंखलामा आज पीएनजी र यूएई खेल्दै

आईसीसी विश्वकप क्रिकेट लिग–२ को त्रिदेशीय एकदिवसीय श्रृंखलामा आज पपुवा न्युगिनी (पीएनजी) र यूएई खेल्दैछन् । खेल कीर्तिपुर मैदानमा बिहान साढे ९ बजेदेखि सुरु हुनेछ ।

लिग–२ मा पीएनजीको यो अन्तिम खेल हो । पीएनजी तालिकाको पुछारमा छ । उसको ३५ खेलमा ५ मा जित २९ मा हारसहित ११ अंक छ । यूएई ३४ खेलमा १४ मा जित र १७ मा हारसहित ३१ अंकका साथ छैटौँ स्थानमा छ । भोलि नेपाल र यूएईबीच श्रृंखलाको अन्तिम खेल हुनेछ ।

नेपाल ३५ खेलमा १८ मा जित र १५ मा हारसहित ३८ अंकका साथ चौथो स्थानमा छ । नेपाल अगाडि ३९ अंकका साथ नामिबिया तेस्रो र नेपालपछि ३५ अंकका साथ अमेरिका पाँचौ स्थानमा छ ।

नेपालले भोलिको खेलमा यूएईलाई हराउन सकेमा ४० अंक हुनेछ । ४० अंक जोड्न सकेमा नेपाल नामिबियालाई पछि पार्दै शीर्ष तीनमा रहँदै सोझै विश्वकप छनोट खेल्न पाउनेछ ।

स्कटल्यान्ड ५० अंकका साथ च्याम्पियन र ओमान ४४ अंकका साथ दोस्रो स्थानमा रहँदै सोझै विश्वकप छनोटमा स्थान बनाएका छन् ।

प्रकाशित मिति : १ चैत्र २०७९, बुधबार ०८:०८