स्थलमार्गबाट समस्या देखिएपछि हुम्लास्थित साल्ट ट्रेडिङ कर्पोरेसनले हेलिकप्टरबाट नुन ढुवानी थालेको छ । सर्केगार्ड गाउँपालिका–४ को दुल्ली कुनाबाट नुन हेलिकोप्टरमा ढुवानी सुरु भएको कर्पोरेसन सिमकोट शाखाका प्रमुख राजबहादुर लामाले बताए ।
कैलाश एयरको हेलिकप्टरबाट अनुदानको नुन ओसार्ने काम भइरहेको छ । नुन सुर्खेतबाट पैदल मार्गबाट सलीसल्ला हुँदै दुुल्लीकुनासम्म गाडीमा ढुवानी भएपछि हेलिकप्टरको माध्यमबाट ढुवानी सुरु भएको हो ।
हेलिकप्टरले दैनिक २० भन्दा बढी उडान भरेर नुन ढुवानी गर्ने कार्य गरिरहेको छ । बढी परिमाणमा ढुवानी गर्नका लागि हेलिकप्टरमा झुण्ड्याएर ओसार्ने कार्य गर्दै आएको छ । हेलिकप्टरभित्र राख्नभन्दा झुण्ड्याएर ल्याउँदा ५० केजी बढी ढुवानी हुने गरेको छ ।
चालुु आर्थिक वर्षको दुुई हजार २०० क्विन्टल नुन फागुन महिनामा आएर हेलिकोप्टरबाट ढुवानी सुुरु छ । खार्पुनाथ गाउँपालिकाका पाँच वटा वडामै हेलिकप्टरबाटै ढुवानी गरिएको छ । प्रत्येक वडामा १५० क्वीन्टल नुन हेलिकोप्टरबाट पुर्याएको उनले बताए ।
यसअघि सिमकोटस्थित शाखाको गोदामबाट नुन खरिद गर्नुपर्ने बाध्यताबाट खार्पुनाथका स्थानीय छुटकारा पाएका छन् । गाउँपालिकाका लागि साढे ७०० क्विन्टल नुन ओसारिएको छ भने सिमकोटस्थित शाखाका लागि हेलिकप्टरले ढुवानी गरिरहेको छ । हुम्लामा आयोडिनयुक्त नुन प्रतिकेजी नौ रुपैयाँमा बिक्री हुने गरेको छ ।
सत्यपाटी संवाददाता । हुम्ला