सूचनाको शक्ति - The Power Of Information

        

उमेर बढेसँगै हड्डी भाँचिने समस्या, यस्ता छन् बच्ने उपाय

विश्व स्वास्थ्य संगठनका अनुसार मुटुरोग पश्चात् विश्वकै सबैभन्दा ठूलो स्वास्थ्य समस्या भनेकै ‘ओस्टियोपोसिस’ हो । अर्थोपेडिक सर्जन डाक्टर दिपेन्द्र पाण्डेका अनुसार ओेस्टियोपोसिस भनेको हड्डी कमजोर तथा पातलोे हुनु हो । यसले हड्डीलाई निकै कमजोर बनाइदिन्छ जसले गर्दा साधारण चोटपटकले पनि भाँचिन्छ ।

‘ओस्टियो भनेको हड्डी हो । पोरोसिस भनेको प्वाल हो,’ अर्थोपेडिक सर्जन डाक्टर पाण्डेले भने ‘यो रोग लागेपछि सामान्य चोटपटक लाग्दा पनि हड्डी भाँचिने समस्यालाई बढावा दिन्छ ।’ उनका अनुसार ओस्टियोपोरोसिसले विशेष गरेर मेरुदण्ड, नाडी, कुहिना र ढाडको हिपकोे हड्डीमा बढी असर पार्छ ।

रोग लाग्ने कारण

ओस्टियोपोरोसिस हुँदा हड्डी कमलो र मखिने हुनाले सजिलै भाँचिने गर्छ । हड्डी कमजोर बनाउने औषधीहरूको प्रयोग, क्यान्सरको उपचारमा प्रयोग गरिने औषधीको सेवनले पनि ओस्टियोपोरोसिस गराउने डा.पाण्डेले बताए । उनका अनुसार धेरै जसो महिनावारी सुकेका महिलाहरूमा यो समस्या बढी देखिन्छ ।

महिनावारी रोकिएपछि हर्मोनले हड्डी बलियो बनाई राख्ने भएकाले हर्मोन उत्पादन हुँदैन त्यसैले पुरुषको तुलनामा महिलामा यो समस्या बढी देखिन्छ । विशेषगरी ५० वर्षको उमेर पार गरेपछि यो रोग मानिसहरूलाई लाग्ने गर्दछ । एस्ट्रोजन हर्मोनको कमीले गर्दा यो समस्या बढी देखिन्छ । ओस्टियोपोरोसिस दुई प्रकारको हुन उनको भनाइ छ ।

अर्थोपेडिक सर्जन डा. दिपेन्द्र पाण्डे ।

उनी भन्छन्, ‘एउटा प्राइमरी ओस्टियोपोरोसिस हो, जसलाई सामान्य प्रकारको मानिन्छ । अर्को सेकेन्डरी ओस्टियोपोरोसिस हो । हाईपरथाइराइडिज्म, हाईपरप्यारायडिज्म वा ल्युकेमिया लगायतका कारण सेकेन्डरी ओस्टियोपोरोसिस हुनेगर्छ ।’ सेकेन्डरी ओस्टियोपोरोसिस उमेरसँगै बढेर जान्छ । जस्तो महिलाहरूमा रजनोवृत्ति पश्चात्त हड्डी कमजोर हुनु पनि यसमा पर्दछ ।

लक्षण

ओस्टियोपोरोसिस भएमा यस्ता प्रकारका लक्षण देखिन्छन्

  • जोर्नीको दुखाई
  • कम्मर दुख्ने तथा शरीर कुप्रँदै जाने
  • सीधा बस्न तथा हिँड्न गाह्रो हुने
  • हड्डी कमजोर हुँदै जाने
  • हड्डीहरु धेरै दुख्ने
  • सानोतिनो चोटपटक लाग्दा पनि हड्डी भाँचिने

बच्ने उपाय

ओस्टियोपोरोसिस भएमा पर्याप्त क्याल्सियम तथा भिटामिन ‘डी’, दूध, दही, पनीर लगायतका क्याल्सियमयुक्त डेरी प्रोडक्टको सेवन गर्नुपर्ने चिकित्सकहरू बताउँछन् । सर्जन डा. पाण्डेका अनुसार धुम्रपान नगर्ने, दैनिक २३ मिलिग्राम मात्र नुनको सेवन गर्नुपर्छ । जसका लागि शरीरलाई धेरै भार पर्ने खालका व्यायामहरु नगर्ने, क्याल्सियम तथा भिटामिन ‘डी’ को सेवन गर्ने, चिकित्सकको सल्लाह बमोजिम ओस्टियोपोरोसिसको औषधी नियमित सेवन गर्ने लगायतका कुराहरु गर्नुपर्ने हुन्छ ।

के खाने ?

‘क्याल्सियमयुक्त रेसादार हरिया साजसब्जीको सेवनले पनि यो समस्या कम गर्न सकिन्छ’ डा. पाण्डेले भने । दालचिनी, लसु, ज्वानो तुलसी, पुदिना, र सुपले हड्डी बलियो बनाउने भएकाले धेरै खानुपर्ने उनले बताए । त्यस्तै माछा, मासु, सुुन्तला, बदाम, तिल पनि क्याल्सियमको राम्रो स्रोत भएकोले यस्ता खानेकुरा पनि लाभदायक मानिन्छ ।

प्रकाशित मिति : २४ माघ २०७९, मंगलवार १२:१०