नेपाल राष्ट्र बैंकका प्रथम गभर्नर हिमालय शमशेर जबराको निधन भएको छ । लामो समयदेखि श्वासप्रस्वासमा समस्या झेल्दै आएका जबराको काठमाडौँस्थित नर्भिक अस्पतालमा आज बिहान ६ः३० निधन भएको हो ।
उनको आजै पशुपति आर्यघाटमा अत्यष्टी गरिनेछ । १४ वर्षमा मेट्रिक पास गरेका उनी २००७ सालमा नेपाल सरकारको अर्थ सचिव हुँदै २०१३ साल वैशाख १० गते नेपालको पहिलो गभर्नरमा नियुक्त भएका थिए ।
उनले २ वर्ष ८ महिना राष्ट्र बैंकको पहिलो पहिलो गभर्नरका रुपमा काम रहेका थिए । राजा महेन्द्रले राष्ट्र बैंकको स्थापना गरेर मासिक ८०० तलब खानेगरी गभर्नरको नियुक्ति दिँदा जबराको उमेर २९ वर्ष मात्र थियो ।
जबराले संयुक्त राष्ट्रसंघ विकास कार्यक्रम अन्तर्गत उच्च पदमा रहेर सन् १९६२ देखि १९८६ सम्म विभिन्न देशहरूमा काम गरेका थिए । उनले गभर्नर भएसँगै नेपालबाट भारुको चलन विस्थापित गर्न सफल भएका थिए ।
भारुलाई नेपालीमा परिवर्तन गर्दा सटही दर निर्धारण गर्न वास्तवमै निकै कठिन थियो । तर, उनले तीन वर्ष लगाएर त्यसमा अनुसन्धान गरेर भारु १ सय रुपैयाँको एक सय ६० रुपैयाँ हुने गरी सटही दर निर्धारण गरेका थिए ।
त्यतिखेर राखिएको भारतीय रुपैयाँको विनियम दर अहिलेसम्म पनि कायम छ । राष्ट्र बैंकबाट रिटायर्ड भएपछि उनी निष्क्रिय बसेनन् । उनले व्यवसायमा हात हाले । जागिरबाट अवकाश पाएपछि व्यवसायमा हात हालेका जबराले हिमालयन बैंकदेखि हिमालयन डिस्टिलरीसम्म स्थापना गरे ।
गोर्खा ब्रुअरी कम्पनी खोलेर टुबोर्ग, काल्सवर्ग वियर उनैले नेपाल भित्र्याएका हुन् । त्यतिमात्र होइन उनले किताब समेत लेखेका छन् । ‘क्रोनिकल अफ दी राणाज’ । उक्त किताबमा जंगवहादुरदेखि मोहनसमशेरसम्मको समयमा भएका दरवारको आर्किटेक्चरबारे वर्णन गरिएको छ । ९५ वर्षीय जबराका दुई छोरा र दुई छोरी छन् ।
सत्यपाटी संवाददाता । काठमाडौं