सूचनाको शक्ति - The Power Of Information

        

गडबन्धनमा गडबड

प्रचण्डसँग मुर्मुरिए ओली, एमाले बन्यो सशंकित

एमालेका लागि राष्ट्रपति पद यतिबेला ‘स्वयम्भूमा बलेको बत्ति हेरेर रातभर रानीपोखरीमा डुबेर बसेजस्तो’ भएको छ ।

कांग्रेसले प्रधानमन्त्री नदिँदा एमाले लगायतका दलको सहयोगमा प्रधानमन्त्री बनेका पुष्पकमल दाहाल प्रचण्डका पछिल्ला गतिविधिका कारण एमाले अध्यक्ष केपी शर्मा ओली मुर्मुरिएका छन् । ७९ सिट जितेको दलले ३२ सिटमा मात्र जित निकाल्न सफल माओवादीलाई प्रधानमन्त्री दिएर ओलीले प्रचण्डसँगको सहकार्यलाई अघि बढाएका छन् ।

माओवादीलाई प्रधानमन्त्री दिएको एमालेले सभामुख र राष्ट्रपति आफूसँग राख्ने सहमति थियो । सो सहमति अनुसार प्रचण्ड प्रधानमन्त्री छन् भने एमालेबाट देवराज घिमिरे सभामुख निर्वाचित भइसकेका छन् । दुई दलबीचको सहमति अनुसार चार प्रदेशमा एमाले र दुई वटा प्रदेश सरकारको नेतृत्व माओवादी केन्द्रले गरिरहेको छ ।

प्रचण्ड नेतृत्वमा सरकार गठन भएको एक महिना पूरा भएको छ । अब एक महिनापछि राष्ट्रपति निर्वाचन हुँदैछ । दुई दलबीचको सहमति अनुसार राष्ट्रपति एमालेले पाउनु पर्ने हो । तर प्रचण्डका पछिल्ला गतिविधि सहमति पालना गर्नेतर्फ उन्मुख नभएको भन्दै एमाले असन्तुष्ट बनेको छ ।

पुस २६ गते प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिएको नेपाली कांग्रेसले राष्ट्रपतिमा उम्मेदवार उठाउने घोषणा मात्रै गरेको छैन, आफ्नै उम्मेदवारले जित्नेसमेत दाबी गर्दै आएको छ । कांग्रेसको दाबीलाई सघाउने किसिमले माओवादीले राष्ट्रपतिमा राष्ट्रिय सहमति खोज्ने निर्णय नै गरिसकेको छ । जसबाट एमाले अध्यक्ष ओली चिढिएका छन् ।

प्रचण्डका पछिल्ला गतिविधिलाई ‘नदेखे’ जस्तो गरी बस्न ओली बाध्य छन् । पुस १० मा सात दलबीच सहमति हुँदा सरकार सञ्चालन गर्ने विषयमा कुनै समस्या आए सत्ता साझेदार दलबीच सहमति गरेर समस्या हल गर्ने भनिएको थियो । तर अहिले प्रधानमन्त्री प्रचण्डले एकल ढंगले अघि बढ्न खोजेको भन्दै एमाले सशंकित बनेको छ ।

तर, कुनै प्रतिक्रिया जनाइहाल्ने अवस्थामा उ छैन । किनभने अब एक महिनापछि राष्ट्रपति निर्वाचन हुँदैछ । राष्ट्रपतिमा आफ्नो उम्मेदवारलाई जिताउन माओवादीको साथ एमालेलाई अनिवार्य हुन्छ । एमालेका लागि राष्ट्रपति पद यतिबेला ‘स्वयम्भूमा बलेको बत्ति हेरेर रातभर रानीपोखरीमा डुबेर बसेजस्तो’ भएको छ ।

आन्तरिक र बाह्य शक्ति राष्ट्रपति कुनै पनि हालतमा एमालेलाई दिन नहुने भन्दै विभिन्न चलखेल गरिरहेका छन् । राष्ट्रपति संवैधानिक पद भए पनि कतिपय सन्दर्भमा निर्णायक हुने भएकाले सबैले आफू अनुकुल राष्ट्रपति बनाउन खोजेका छन् । माओवादीभित्रै पनि राष्ट्रपति एमालेलाई दिन नहुने मत बलियो बन्दै गएको छ ।

यी सबै गतिविधिप्रति ओली पूर्ण जानकार छन् । सबै जान्दा जान्दै पनि ओली रिस दबाएर बस्नुपर्ने अवस्थामा पुगेका छन् । उनी राष्ट्रपति चुनावलाई मध्यनजर गर्दै प्रचण्डका गतिविधिलाई नदेखेजस्तो गरी बस्न बाध्य छन् । पूर्व सहमति पालना गर्ने विषयमा प्रधानमन्त्री प्रचण्ड गम्भीर नभएको एमालेको बुझाइ छ ।

पुस १० को सहमति अनुसार गृहमन्त्रालय राष्ट्रिय स्वतन्त्र पार्टीलाई दिन प्रचण्ड तयार नभएपछि ओली झन् बिच्किएका छन् । त्यसमाथि गृहमन्त्रालय लगायतका विषयमा सत्ता साझेदार दलमा छलफल गर्नुको साटो प्रचण्डले पार्टीका पदाधिकारी बैठकमा सर्वोच्चको पूर्णपाठ नआएसम्म गृहमन्त्रालय कसैलाई पनि नदिने बताएपछि प्रचण्डप्रति एमाले सशंकित बनेको छ ।

‘अध्यक्ष (ओली)को नेचर कसैको दबाव वा अपमान सहेर बस्ने खालको छैन,’ ओली निकट एक नेताले भने, ‘त्यसमा पनि अहिले प्रधानमन्त्री प्रचण्डजीका गतिविधि उहाँलाई मन पर्ने कुरौ भएन । सत्ता गठबन्धनको प्रमुख नेतासँग छलफल नै गरी पार्टी बैठकमा गृहमन्त्रालय रविजीलाई दिन सकिँदैन भन्नु गठबन्धनको संस्कृति विपरित विषय हो ।’ धेरै दवाव र अपमान हुँदा ओलीले झण्डै दुई तिहाइ बहुमत रहेको आफ्नै सरकार विघटन गरेको विगत छ ।

यदि अहिले राष्ट्रपतिको निर्वाचन भइसकेको हुँदो हो त ओलीको अर्कै मुभ भइसक्थ्यो । ओली यतिबेला कांग्रेससँग मिल्ने अवस्थामा पनि छैनन् । किनभने कांग्रेससँग सहकार्य गर्दा एमालेले राष्ट्रपति पद गुमाउनुपर्ने हुन सक्छ । यही कारणराष्ट्रपति निर्वाचन अघिसम्म प्रचण्डले जे जस्ता गतिविधि गरे पनि ओली र सिंगो एमाले प्रतिक्रिया विहीन भएर बस्ने अवस्थामा पुगेका छन् ।

प्रकाशित मिति : १८ माघ २०७९, बुधबार १२:००