सूचनाको शक्ति - The Power Of Information

        

बझाङको साइपालमा हिमपात, खाद्यान्न ढुवानीमा समस्या

बझाङ जिल्लाको सबैभन्दा दुर्गम हिमाली गाउँपालिकाको रूपमा रहेको साइपाल गाउँपालिकामा हिमपातका कारण खाद्यान्न ढुवानी समस्या भएको छ । गत बुधबार भएको हिमपातका कारण बाटो अबरुद्ध भएपछि खाद्यान्न ढुवानी गर्न समस्या भएको हो ।

यातायातका साधनहरु नपुगेको बझाङको साइपाल गाउापलिकामा भेडा, खच्चरबाट खाध्यान्न आयात गर्ने गरिएको छ । हिमपातका कारण बाटो अबरुद्ध भएछि खाद्यान्न ढुवानीका लागि जाने भेडा, खच्चरहरुको आवतजावतमा समस्या भएको छ ।

साथै साइपालको वडा नं १ देखि ५ सम्म हिमपातले बाटो अबरुद्ध भएपछि खाद्यान्न अभाव हुन थालेको गाउँपालिकाका पूर्व अध्यक्ष राजेन्द्रबहादुर धामीले बताए । ६ महिनाअघि काँडा बिक्री केन्द्रले ३ हजार क्वीन्टल खाद्यान्न ढुवानीको ठेक्का पाएको थियो ।

तर ६ महिनासम्म जम्मा ६०० क्वीन्टल मात्रै खाद्यान्न ढुवानी गरिएको र मौज्दात खाद्यान्न सकिएपछि खाद्यान्न अभाव भएको गाउपालिका जनाएको छ । सम्झौता अनुसार बाँकी २४ सय क्वीन्टल खाद्यान्न ५ महिनाभित्र ढुवानी गरिसक्नुपर्नेछ ।

यस विषयमा खाद्यान्न बिक्री केन्द्र लगायत सम्बन्धित निकायले ध्यान दिन नसके खाद्यान्न अभावले भोकमरी हुने चिन्ता बढेको धामीको भनाई छ । खाद्यान्न अभाव हुन नदिन अवरुद्ध बाटोको मर्मत थालिएको साइपाल गाउपालिकाका अध्यक्ष मानबहादुर वोहराले जानकारी दिए । साइपाल गाउँपालिकाको लाग्नामा अत्यधिक हिमपात भएपछि बाटो अबरुद्ध भएको हो ।

प्रकाशित मिति : १५ माघ २०७९, आइतवार १४:५७