सूचनाको शक्ति - The Power Of Information

        

लुम्बिनीका प्रदेशका नवनिर्वाचित सभामुख र उपसभामुखले लिए शपथ

लुम्बिनी प्रदेशका नवनिर्वाचित सभामुख र उपसभामुखको पद तथा गोपनीयताको शपथ लिएका छन् ।

प्रदेश प्रमुख अमिक शेरचनले बुधबार दिउँसो सभामुख तुलाराम घर्ती मगरलाई प्रदेशसभा नियमावली, २०७९ वमोजिम पद तथा गोपनीयताका शपथ ग्रहण गराएका हुन् ।

आफूले शपथ लिएपछि सभामुख घर्तीले उपसभामुख मेनुका खाँड केसीलाई शपथ ग्रहण गराए । प्रदेश प्रमुखको कार्यालय बुटवलमा बुधवार दिउँसो एक बजे शपथ ग्रहण समारोह आयोजना गरिएको थियो ।

सभामुखको शपथग्रहण पश्चात् उपसभामुख मेनुका खाँड केसीको शपथ ग्रहण भएको छ । प्रदेशसभा नियमावली, २०७९ बमोजिम प्रदेश प्रमुखको उपस्थितिमा सभामुखसमक्ष उपसभामुखले शपथ लिएकी हुन् ।

मंगलबार बसेको प्रदेशसभाको बैठकबाट संविधानको धारा १८२ बमोजिम सभामुख र उपसभामुख निर्वाचन प्रक्रियामार्फत् निर्विरोध चयन गरिएको थियो ।

प्रदेशसभा नियमावलीमा सभामुखले आफ्नो कार्यभार सम्हाल्नुअघि प्रदेश प्रमुखसमक्ष पद तथा गोपनीयताको शपथ लिनुपर्ने उल्लेख छ ।

साथै, उपसभामुखले आफ्नो कार्यभार सम्हाल्नुअघि प्रदेश प्रमुखको उपस्थितिमा सभामुखसमक्ष पद तथा गोपनीयताको शपथ लिनुपर्ने उल्लेख छ ।

सभामुख र उपसभामुख चयन नहुँदासम्म ज्येष्ठ सदस्य डिल्लीराज भुसालले सभा सञ्चालन गरेका थिए ।

प्रकाशित मिति : ४ माघ २०७९, बुधबार १८:१६