कोहलपुर–सुर्खेत सडक विस्तार गर्न दुई देशले चासो देखाएका छन् । सडक विभाग अन्तर्गतको विकास सहायता कार्यान्वयन महाशाखाका अनुसार सडक विस्तारका लागि जापानी सहयोग नियोग (जाइका) र एसियाली पूर्वाधार लगानी बैंक (एआइआइबी) लगानीका लागि चासो देखाएका हुन् ।
एआइआइबीको सदस्य नेपाल पनि हो । यो बैंकका सय मुलुक सदस्य भइसकेका छन् । पाँच वर्षअघि एआइआइबीले नेपालको पूर्वाधार क्षेत्रमा १ खर्ब १४ अर्ब रुपैयाँ लगानी गर्ने घोषणा गरेको थियो । सोही प्रतिवद्धता अनुसार बैंकले यो सडकमा लगानी गर्न चाहेको हो । जाइकाले नेपालको पूर्वाधार क्षेत्रमा लगानी गर्दै आएको छ ।
यो बैंकले १० अर्ब रुपैयाँ लगानी गरिसकेको छ । विकास सहायता कार्यान्वयन महाशाखाका प्रमुख रामहरि पोखरेलका अनुसार चीन र जापानका ऋणदाताले लगानी गर्न इच्छुक रहेको बताएका छन् । उनले एआइआइबीका प्रतिनिधि लगानीका बारेमा छलफल गर्न आउन लागेको जानकारी दिए । पोखरेलका अनुसार जाइका पनि यो सडकमा इच्छुक रहेको हो ।
‘यसमा जाइका पनि इच्छुक भएको बुझिएको छ,’ उनले भने, ‘यसमा जाइकाले लगानी गर्दा हाम्रो लागि राम्रो हुन्छ ।’ जापानले अतिकम विकसित मुलुकमा एक प्रतिशतभन्दा कम ब्याजमा ऋण उपलब्ध गराउँछ । केही वर्षअघि विश्व बैंकले कोहलपुर–सुर्खेत सडक विस्तारको लागि डिजाइन तथा वातावरणीय प्रभाव मूल्यांकन गरेको थियो ।
भारतको एक्जिम बैंकले लगानी गर्ने भने पनि धेरै समय लाग्ने देखिएपछि सरकार पछि हटेको थियो । प्रदेश राजधानी जोड्ने कोहलपुर–सुर्खेत राजमार्गको बजेटको स्रोत सुनिश्चितता नभएको भन्दै गत वर्ष बजेट सरेन्डर गरिएको थियो । सरकारले गत वर्ष २०७८–०७९ मा ७ अर्ब वैदेशिक लगानीमा निर्माण गर्ने भन्दै बजेट विनियोजन गरेको थियो ।
तर, यो राजमार्ग निर्माण गर्न कुन देशलाई दिने भन्नेमा सरकारले निर्णय लिन नसक्दा बजेट सरेन्डर गरिएको थियो । पोखरेलका अनुसार यो वर्ष भने सरकारले सडक विस्तारको लागि बजेट विनियोजन गरेको छैन । कोहलपुर–सुर्खेत सडक निर्माणका लागि ६ अर्ब ५० करोड रुपैयाँ लागत लाग्ने अनुमान गरिएको छ । यो सडक ८२ किलोमिटरको रहेको छ ।
यो सुरुङमार्गहरु केही निर्माण गर्नुपर्ने छैन । यो सडक बाँके जिल्लादेखि सुरु भएर सुर्खेतसम्म पुग्नेछ । यसमा कोहलपुरबाट १३ किलोमिटर दुरीसम्म सडकको केन्द्रविन्दुबाट दायाँबायाँ ११ मिटर फराकिलो हुनेछ । अन्य स्थानमा भने सडकको केन्द्रविन्दुबाट दायाँबायाँ ७.५ मिटर फराकिलो हुनेछ । यो सडक चुरेको पर्वतीय हिमश्रृंखला हुँदै जानेछ ।
सत्यपाटी संवाददाता । बाँके