सूचनाको शक्ति - The Power Of Information

        

बिग्रियो मौसम

तराईमा शितलहर, छैन सतर्कता

स्थानीय प्रशासन तथा पालिकाहरुले आमनागरिकलाई चिसोबाट बचाउने गरी कार्यक्रम अघि बढाउन सकेका छैनन् । चिसोबाट सबैभन्दा बढी ज्येष्ठ नागरिक, बालबालिका तथा अतिविपन्न घरपरिवार प्रभावित भएका छन् ।

देशभर तराई क्षेत्रमा दिनभरजसो शीतलहरसँगै बाक्लो कुहिरो र हुस्सु लागिरहेको छ । तराईका धेरै स्थान बाक्लो कुहिरो र हुस्सु प्रभावित भएका छन् । जनजीवन अस्तव्यस्त भएको छ । दृष्यात्मक (पारदर्शिता) लगभग शून्य दशमलव एक माइल रहेको छ ।

एक किलोमिटरभन्दा कम पारदर्शिता हुँदा कुहिरो र त्यसभन्दा बढी पारदर्शिता हुँदा हुस्सु लाग्ने सम्भावना धेरै रहने महाशाखाले जनाएको छ । तीन दिनअघिसम्म पारदर्शिता छ हजार माइल थियो । अझै केही दिन अवस्थामा सुधार नआउने महाशाखाले जनाएको छ ।

‘बिहानको समयमो तराई क्षेत्रमा हुस्सु तथा कुहिरो लागेको छ । हिमाली क्षेत्र मा हिमपातको सम्भावना छ । अझै केहीदिन यो अवस्था जारी रहनेछ । चिसोबाट बच्न आवश्यक सुरक्षा र सतर्कता अपनाउनु हुनसमेत अनुरोध छ,’ महाशाखाले जनाएको छ ।

महाशाखाले भनेको छ, ‘तराई क्षेत्रमा हुस्सु कुहिरो लाग्ने र दैनिक जीवन र सडक तथा हवाई यातायातमा प्रभाव पर्ने सम्भावना रहेकोले आवश्यक सावधानी तथा सतर्कता अपनाउनु हुन अनुरोध छ ।’

तराई क्षेत्रमा शितलहर र हुस्सुका कारण चिसो अत्यधिक बढेको छ । मंगलबारदेखि शुरु भएको शितलहर र हुस्सुसँगै चिसो धेरै बढेपछि तराई क्षेत्रको जनजीवन प्रभावित बनेको छ । सडकमा सवारी साधन र मानिसको आवागमन निकै कम देखिएको छ ।

महाशाखाले जारी गरेको बुलेटिनमा पनि अझै तराईका जिल्लामा हुस्सु तथा कुहिरोको प्रभाव कायम रहेकाले सावधानी अपनाउन सुझाव दिएको छ । एकाएक ह्वात्तै चिसो बढेकाले विभिन्न सङ्क्रमणको रोग प्रकोप फैलिन सक्ने चिकित्सकहरुले चेतावनी दिएका छन् ।

चिसो मौसममा दम, रुघाखोकी, ज्वरो, निमोनियाको प्रकोप फैलिन सक्ने चिकित्सकहरु बताउँछन् । शितलहर र चिसोबाट सबैभन्दा बढी रिक्सा चालक, ठेला चालक र मजदुरहरु प्रभावित भएका छन् । बालबालिका र ज्येष्ठ नागरिकलाई पनि यसले प्रभाव पारेको छ ।

कुहिरोका कारण भिजिबिलिटी कम हुँदा तीन दिनदेखि संघीय राजधानी लगायत पहाडी क्षेत्रमा हुने हवाई उडानसमेत प्रभावित भएका छ । नेपालगन्ज, धनगढी, भैरहवा लगायतका तराई क्षेत्रका विमानस्थलबाट हुने अधिकांश हवाई उडान प्रभावित भएका छन् ।

चिसो बढेसँगै विभिन्न अस्पतालहरुमा चिसोका विरामीहरुको भीड लागेको छ । निमोनिया, ‘कोल्ड डायरिया’ र रुघाखोकी लागेका बालबालिका र ज्येष्ठ नागरिकहरु आउने क्रम बढेको मेडिकल कलेजको नेपालगन्ज शिक्षण अअस्पतालका निर्देशक डा.एम किदवाईले बताए ।

भेरी अस्पतालमा पनि चिसोका विरामीहरु आउने क्रम दिनानुदिन बढ्दै गएको अस्पतालका चिकित्सक डा.संकेतकुमार रिसालले बताए । यस मौसममा बालबालिकालाई बढी हेरचाह गर्न, आगो लगायत हिटरमा राख्न र न्यानो लुुगा लगाउन आग्रह गरिएको छ ।

उनले चिसो बढेसँगै बिरामीहरु पनि अस्पतालमा आउने क्रम बढेकाले चिसोबाट जोगिने उपाय अपनाउन सबैसँग आग्रह गरे । चिकित्सकहरुका अनुसार जाडो मौसममा विभिन्न किसिमका फ्लुको सङ्क्रमण बढ्ने डर बढी हुन्छ ।

चिसो बढेसँगै नागरिकले स्थानीय प्रशासन र पालिकासँग टोलटोलमा दाउरा खसाल्न आग्रह गरेका छन् । यद्यपी स्थानीय प्रशासन तथा पालिकाहरुले आमनागरिकलाई चिसोबाट बचाउने गरी कार्यक्रम अघि बढाउन सकेका छैनन् ।

चिसोबाट सबैभन्दा बढी ज्येष्ठ नागरिक, बालबालिका तथा अतिविपन्न घरपरिवार प्रभावित भएका छन् । विगतमा स्थानीय सरकारले न्यानो कपडा वितरण, चोक–चोकमा दाउरा वितरण गरे पनि पछिल्लो समय यस्ता कार्यक्रमले निरन्तरता पाउन सकेका छैनन् ।

के हो मौसमी फ्लु ?

तापक्रमको गिरावटपछि यसको प्रत्यक्ष असर मानव शरीरमा हुने गर्दछ । चिसोमा शरीरको ताप घट्दा बढी चिसो महसुस हुन्छ । बाह्य वातावरण चिसो हुने भएकाले शरीरमा जतिबेला पनि जाडो अनुभूति हुन्छ र रुघाको जोखिम बढ्छ ।

कुनै व्यक्तिको श्वासप्रश्वास, खोकी, हाच्छ्युँ र सामान्य बोलीचालीबाट पनि मौसमी फ्लु सर्न सक्छ । सङ्क्रमित व्यक्तिको मुख, नाक र आँखाबाट मौसमी फ्लू सर्ने चिकित्सकहरु बताउँछन् । शरीरले तापक्रम ‘एडजस्ट’ गर्न नसक्ने भएकाले जाडोमा अत्यधिक चिसो वा तातोमा स्थानमा नबस्न विज्ञहरू बताउँछन् ।

वातानुकूलित कोठामा बसेर बाहिर निस्किँदा शरीरले एकैचोटी बाहिरको चिसो मौसमसँग एडजस्ट गर्न नसक्ने भएकोले धेरै तापक्रममा नबस्न चिकित्सकहरुको सुझाव छ । खोकी, धुलो, सुख्खा र चिसो हावाका कारण जाडोमा खोकीको जोखिम बढ्ने गर्दछ ।

पिनासको समस्या भएकालाई धुलाले बढी असर पुर्याउँछ । खोकीबाट बच्न खानेकुरामा विशेष सावधानी पुर्याउनु पर्दछ । नियमितरूपमा तातोपानी सेवन गर्नुपर्छ । शरीरमा चिसो र तातोको सन्तुलन मिलाउनुपर्छ । तातोपानी, चिया अथवा कफी खाएर चिसो पानी वा कोल्डड्रिंक्स खानुहुन्न ।

बाहिर निस्किँदा अनिवार्यरुपमा मास्क लगाएर निस्किन पनि चिकित्सकहरुहरुको आग्रह छ । चिसो मौसममा अधिकांश मानिसको छाला फुस्रो हुन्छ । पर्याप्त पानी नखाँदा छाला फुस्रो हुने ओठ फुट्ने गर्छ । फुस्रो छालाबाट बच्न हरेक रात सुत्नुअघि कोकोनट र आलमोन्डको तेल लगाउनुपर्छ । तेलीय खानेकुरा खानुहुँदैन । प्रशस्त पानी पिउनुपर्छ ।

चिसोका कारण कतिपय मानिसमा टाउको दुख्ने, वाकवाकी लाग्ने समस्या आउन सक्छ । यस्तो अवस्थामा उनीको टोपी, मफलर लगायत न्याना लुगा लगाउनुपर्छ । रोग निम्तिनुमा खानपिन पनि जिम्मेवार हुने भएकाले नियमित पोषिलो खानेकुरा खानुपर्छ । चिसोकै कारण बारम्बार टाउको दुखेमा दैनिक मनतातो अदुवा पानी पिउनुपर्छ ।

कसरी गर्ने जाडोको सामना  ?

हरेक पटक मौसम परिवर्तन हुन्छ तर, परिवर्तित मौसममा बानी पर्न हामीलाई केही समय लाग्छ । परिवर्तित मौसममा ‘एडजस्ट’ गर्ने समयमा शरीरको रोग प्रतिरोधात्मक क्षमता पनि न्यून हुन्छ र शरीर विभिन्न भाइरस र ब्याक्टेरियाले शरीरमा आक्रमण गर्ने दाउमा हुन्छन् ।

विचार नपुर्याएमा तत्कालै बिरामी हुन पुगिन्छ । बाह्य तापक्रममा भएको परिवर्तनले चिसोसँगसम्बन्धी विभिन्न रोग लाग्न सक्ने भएकाले सतर्कता अपनाउन सल्लाह दिनुहुन्छ सुझाव डा. निराजन शर्मा दिनुहुन्छ ।

यस्तो छ आगामी तीनदिनको मौसम

हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको छ । प्रदेश १ र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रही देशका तराईका भू–भागहरुमा हुस्सु कुहिरो लागेको छ भने बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहेको छ ।

२०७९ पुस १३ गते (बुधवार)

राती – प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ । प्रदेश १ को हिमाली भू–भागका एक वा दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

२०७९ पुस १४ गते (बिहीवार)

दिउँसो – प्रदेश १ र सुदूरपश्चिम प्रदेशको पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी प्रदेशको पहाडी भू–भागमा आंशिक बदलीको अवस्था रहनेछ । प्रदेश १ को हिमाली भू–भागका एक वा दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

राती – देशको पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदलीको अवस्था रहनेछ । प्रदेश १ र सुदूरपश्चिम प्रदेशको हिमाली भू–भागका एक वा दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

२०७९ पुस १५ गते (शुक्रवार)

दिउँसो – देशको पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही पहाडी भू–भागका एक वा दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । हिमाली भू–भागका थोरै स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको देखिन्छ ।

राती – देशको पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही पहाडी भू–भागका एक वा दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । हिमाली भू–भागका थोरै स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको देखिन्छ ।

आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श

प्रदेश १ को हिमाली भू–भागको एक वा दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ । तराईका केही भू–भागमा हुस्सु तथा कुहिरो लाग्ने र दैनिक जीवन र सडक तथा हवाई यातायातमा प्रभाव पर्ने सम्भावना रहेकोले आवश्यक सावधानी तथा सतर्कता अपनाउनु हुन अनुरोध छ ।

प्रकाशित मिति : १४ पुष २०७९, बिहीबार ०८:११