सूचनाको शक्ति - The Power Of Information

        

अत्यधिक बढ्यो चिसो

शितलहर र हुस्सुले नेपालगन्जबाट हुने हवाई उडान प्रभावित

केही दिनयता चिसो बढेसँगै नेपालगन्जका अस्पतालहरुमा चिसोका विरामीहरुको भीड लागेको छ ।

शितलहर र हुस्सु चलेपछि बाँकेमा देखिएको दिउँसोको दृष्य ।

बाँकेमा दुई दिनदेखि शुरु भएको शित लहर र हुस्सुका कारण चिसो अत्यधिक बढेको छ । मंगलबारदेखि शुरु भएको शितलहर र हुस्सुले गर्दा चिसो धेरै बढेपछि यस क्षेत्रको जनजीवन प्रभावित बनेको छ ।

शितलहरले गर्दा चिसो अत्यधिक बढेको कारण बिहान र बेलुका सडकमा सवारी साधन र मानिसको आवागमन निकै कम देखिएको छ । चिसो बढेका कारण नेपालगन्जका प्रमुख बजार त्रिभुवन चोक, सदरलाइन, घरबारीटोल, वीपी चोक, बीरेन्द्र चोक र पुष्पलाल चोक क्षेत्रमा चहलपहल घटेको छ ।

शितलहर चलेर चिसो बढेपछि बजारमा मानिसको आवागमन घटेको हो । शितलहर र चिसोबाट सबैभन्दा बढी रिक्सा चालक, ठेला चालक र मजदुरहरु प्रभावित भएका छन् । बालबालिका र ज्येष्ठ नागरिकलाई पनि यसले प्रभाव पारेको छ । चिसो बढ्दै गएकाले स्थानीयले उपमहानगरपालिकासँग टोलटोलमा दाउरा खसाल्न आग्रह गरेका छन् ।

कुहिरोका कारण भिजिबिलिटी कम हुँदा तीन दिनयता बिहान र बेलुका नेपालगन्जबाट हुने अधिकांश हवाई उडान प्रभावित भएका छन् । पहाडी जिल्लाहरु हुम्ला, बाजुरा, मुगुको रारा, डोल्पा र जुम्लाका लागि बिहान हुने हवाई उडानहरु मध्ये अधिकांश रद्द हुँदै आएको र केहीमा ढिलाइ हुने गरेको नागरिक उड्डयन कार्यालय नेपालगन्जले जनाएको छ ।

सोही प्रकारले सङ्घीय राजधानी काठमाडौँका लागि बिहान र बेलुका हुने हवाई उडान पनि प्रभावित भइरहेको सो कार्यालयले जनाएको छ । जल तथा मौसम विभाग फिल्ड कार्यालय राँझाका अनुसार गत तीन दिनदेखि नेपालगन्जको तापक्रम घट्दै गएको छ । मंगलबार र बुधबार तापक्रम झनै घटेर ७ देखि ८ डिग्रिसम्म पुगेको सो कार्यालयले जनाएको छ ।

यसैबीच, केही दिनयता चिसो बढेसँगै नेपालगन्जका अस्पतालहरुमा चिसोका विरामीहरुको भीड लागेको छ । मेडिकल कलेजको नेपालगन्जस्थित शिक्षण अस्पतालमा एकसाता यता निमोनिया, ‘कोल्ड डायरिया’ र रुघाखोकी लागेको बालबालिका र ज्येष्ठ नागरिकहरु आउने क्रम बढेको सो अस्पतालका निर्देशक डा एम किदवाईले बताए ।

उनले चिसो बढेसँगै बिरामीहरु पनि अस्पतालमा आउने क्रम बढेकाले चिसोबाट जोगिने उपाय अपनाउन सबैसँग आग्रह गरे । सोही प्रकारले भेरी अस्पतालमा पनि चिसोका विरामीहरु आउने क्रम दिनानुदिन बढ्दै गएको सो अस्पतालका चिकित्सक डा.संकेतकुमार रिसालले बताए । यस मौसममा बालबालिकालाई बढी हेरचाह गर्न र चिसोबाट जोगाउन न्यानो लुुगा र आगो लगायत हिटरमा आफ्ना बालबालिकालाई राख्न आग्रह गरिएको छ ।

प्रकाशित मिति : १३ पुष २०७९, बुधबार १५:२९