लामो समयदेखि प्रतिक्षारत रहेको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण कार्य सकिएको छ । विमानस्थल पुसदेखि सञ्चालनमा ल्याउने तयारी भइरहेको नागरिक उड्डयन प्राधिकरणले बताएको छ । यसका लागि रिठ्ठेपानी डाँडा काट्न सुरु गरिएको छ । सरकारले गत असारमै रिठ्ठेपानी डाँडाका रुख कटौती गर्न स्वीकृति दिएको थियो ।
सरकारले ४० मिटरसम्म डाँडा कटान गर्न अनुमति दिए पनि प्राधिकरणले हाल १४ मिटर कटान गर्ने जनाएको छ। १४ मिटर कटान गर्दा परीक्षण उडान गर्न सकिन्छ । क्यालिब्रेसन उडान मंसिर २ गतेदेखि गर्ने तयारी भइरहेको नागरिक उड्डयन प्राधिकरणले जनाएको छ । क्यालिब्रेसन उडानका लागि एरो थाईको प्राविधिक टोलीसहितको जहाज नेपाल आउने तयारी भएको प्राधिकरणले बताएको छ ।
विमानले सात दिन पोखराको आकाशमा उडेर त्यहाँ जडान भएका उडान सम्बन्धी उपकरण तथा प्रविधिहरुको जाँच गर्नेछ । क्यालिब्रेसन उडानमा एरोथाईका पाइलट, रेडियो, एरोनटिकल, इलेक्ट्रोनिकल इन्जिनियर तथा प्राविधिहरु हुने छन् । करिब तीन हजार ९०० रोपनी क्षेत्रफलमा फैलिएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा झण्डै २२ अर्ब लगानी भएको छ ।
सत्यपाटी संवाददाता । पोखरा