सूचनाको शक्ति - The Power Of Information

        

बर्दियाको महजिदिया गाउँ : जहाँ कहिल्यै पुगेनन् उम्मेदवार

प्रतिनिधि तथा प्रदेश सभा निर्वाचन नजिकिएसँगै गाउँबस्तीमा चुनावी सरगर्मी बढेको छ तर, तीनतिर बबई नदी र एकतर्फ भारतको सीमासँग जोडिएको महजिदिया गाउँलाई भने यसको रौनकले अझै छुन सकेको छैन ।

गुलरिया नगरपालिका–१० मा पर्ने महजिदिया गाउँका अधिकांश स्थानीयलाई निर्वाचनको मिति र उम्मेदवारको बारेमा न जानकारी छ, न कुनै चासो नै । न्यूनतम विकासका पूर्वाधारसमेत नपुगेको महजिदिया गाउँमा मल्लाह र हरिजन समुदायका ५० घर छन् ।

ती घरका भित्ता र छानो खरले बनेका छन् । गाउँमा आजसम्म सडक, बिजुली र खानेपानीलगायत कुनै पनि सामान्य सुविधा पुगेको छैन । नदीमा पुल छैन । नदी वारपारका लागि डुङ्गाको जोखिमपूर्ण यात्रा गर्नुपर्छ ।

उक्त बस्तीमा बसोबास गर्ने मानिसको आफ्नो जग्गाजमिन छैन । जमिनदारको जग्गाजमिन ठेक्का र अधियाँ (बटैया)मा लिएर खेती गरिरहेका स्थानीयलाई चुनावले कहिल्यै छोएको छैन । स्थानीय मालमती मल्लाहाले यसअघि चुनाव जितेर गएका नेताहरू फर्किएर कहिल्यै गाउँ नआएको बताइन् ।

आजसम्म कुनै उम्मेदवार मत माग्नका लागि आफ्नो गाउँमा नआएको उनले बताइन् । आफूहरूले मत दिएर जिताएको मान्छे पटक पटक सांसद भएको तर महजिदिया गाउँको विकास गर्न नसकेको स्थानीय लक्ष्मण मल्लाहाले दुखेसो पोखे ।

यसअघिका चुनावमा दिएको सडक, पुल, बिजुली, खानेपानी र लालपुर्जा लगायतका आश्वासन पूरा गर्न नसकेका कारण नेताहरू मत माग्न आउन नसकेको गोपाल मल्लाहाको ठहर छ । बबई नदीले तीनतिर घेरिएर रहेको यो टापुजस्तै गाउँका अधिकांश बालबालिका विद्यालय नै जाँदैनन् । विद्यालय गएका अधिकांश विद्यार्थी नेपाली र भारतीय दुवैतिरका विद्यालयका विद्यार्थी हुन् ।

प्रकाशित मिति : २८ कार्तिक २०७९, सोमबार ११:१८