सूचनाको शक्ति - The Power Of Information

        

द्रुत सङ्कटासन्नता सर्वेक्षण

नेपालगन्जका पुराना बस्ती भूकम्पको उच्च जोखिममा

नेपालगन्जका पुराना घरहरू र साँघुरा बस्तीहरू भूकम्पको उच्च जोखिममा रहेकाले पूर्वतयारी आवश्यक छ ।

नेपालगन्जका पुराना सहरी बस्तीहरू भूकम्पको उच्च जोखिममा छन् । पछिल्लो पटक गरिएको एक सर्वेक्षणले नेपालगन्जका पुराना र घना बस्ती भएको सहरी क्षेत्र अत्यधिक जोखिममा रहेको देखाएको छ ।

नेपालगन्ज उपमहानगरपालिकाले तयार गरेको सर्वेक्षण प्रतिवेदनले उपमहानगरका बढी जनघनत्व भएका र पुराना बस्तीहरू अत्यधिक जोखिममा रहेको देखाएको हो । सहरी विपत् तथा भूकम्पीय जोखिमका हिसाबले सर्वेक्षण गरिएका वडा नं.३ र ७ को जनघनत्व बढी भएका बस्ती उच्च जोखिममा देखिएका हुन् ।

विपत् प्रतिकार्य पूर्वतयारीलाई प्रभावकारी बनाउन जोखिमयुक्त बस्ती मानिएका नेपालगन्जका वडा नं. ३ र ७ लाई छनोट गरी अध्ययन गरिएको थियो । संरचनात्मक इन्जिनियरिङ विशेषज्ञ सन्तोष श्रेष्ठले पुराना घरहरू र साँघुरा बस्तीहरू भूकम्पको उच्च जोखिममा रहेकाले पूर्वतयारी आवश्यक रहेको बताए ।

नेपालगन्ज उपमहानगरपालिकामा भूकम्पीय सुरक्षाका मापदण्ड कडारूपमा लागू गर्दै विपत् न्यूनीकरणका लागि पुराना र घना घर भएका वडालाई छनोट गरी एक हजार ४०८ घरको द्रुत सङ्कटासन्नता सर्वेक्षण गरिएको उनले बताए ।

नेपालगन्ज उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शिवप्रसाद रिजालले भूकम्पको उच्च जोखिममा रहेको क्षेत्रलाई सुरक्षित बनाउन गर्न सबै उपाय अपनाउने बताए । उनले सर्वेक्षणले देखाएको परिणाम गम्भीर किसिमको भएको र सो विषयमा थप योजना बनाइ सम्बन्धित सबैको सहयोग लिएर कार्यान्वयनमा जानुपर्नेमा जोड दिए ।

सर्वेक्षण प्रतिवेदन सार्वजनिक कार्यक्रममा उपमहानगरपालिकाका कार्यपालिका सदस्य वसन्त कनोजिया, दातृ संस्था युनिसेफका प्रतिनिधिहरू, नेपाल रेडक्रस सोसाइटी बाँके शाखाका सभापति गोवर्धनसिंह सम्झना, रेडक्रस बाँके शाखाका उपनिर्देशक, आपतकालीन कार्य सञ्चालन केन्द्रका सूचना व्यवस्थापन अधिकृत रूपन ज्ञवाली, इन्जिनियरहरू शैलेश श्रेष्ठ, प्रकाश डीसी लगायतको सहभागिता थियो ।

प्रकाशित मिति : २७ कार्तिक २०७९, आइतवार ०६:५९