सूचनाको शक्ति - The Power Of Information

        

दाङको बबई नदीमा डुबेका दुई किशोरीको शव निकालियो

दाङको बबई नदीमा नुहाउने क्रममा बेपत्ता भएका दुई किशोरीको शव भेटिएको छ । तुलसीपुर इलाका प्रहरी कार्यालयका अनुसार शनिबार दिउँसो पौने २ बजेतिर डुबेर बेपत्ता भएका दुई किशोरी आज दिउँसो ४ बजेतिर भेटिएका हुन् ।

शनिबार दिउँसो पौने २ बजेतिर नदीमा नुहाउन गएका दङ्गीशरण गाउँपालिका–२ सिमलकुुना निवासी अन्दाजी १५/१६ वर्षीया रमा शाही र सल्यान दमाचौर घर भई दङ्गीशरण २ स्थित मामाघर आएकी अन्दाजी १४/१५ वर्षीया गोमा चन्द बगेर बेपत्ता भएका थिए ।

उनीहरुको शव तुलसीपुर उपमहानगरपालिका–११ र दङ्गीशरण गाउँपालिका–२ को सिमानामा पर्ने सरुवाडाँडामा भेटिएको पत्रकार देवीराम कुसारीले जानकारी दिए । पत्रकार कुसारीका अनुसार स्थानीयबासी र प्रहरीले संयुक्त रुपमा खोजी गर्दा उनीहरुको शव फेला परेको थियो ।

तुलसीपुर उपमहानगरपालिका–११ र दङ्गीशरण गाउँपालिका–२ को सिमानामा पर्ने सोही क्षेत्रमा नुहाउन तीन किशोरी गएका थिए । तीमध्ये दुईजना पौडी खेल्न बीचमा गएको र अर्की दङ्गीशरण–२ सिमलकुना निवासी १३ वर्षीया निरुता बस्नेत छेउमै थिइन् ।

उनीहरु दुबैजना डुबेपछि निरुताले स्थानीयलाई खबर गरेपछि स्थानीयले प्रहरीलाई बोलाएका थिए । ती किशोरीहरुको शव फेला नपरेपछि खोजीका लागि प्रहरीले बाँकेको शम्शेरगन्जबाट सशस्त्र प्रहरीको गोताखोरको बोलाएको थियो ।

डुबेर बेपत्ता भएका किशोरीको शव खोज्दै स्थानीय र सुरक्षाकर्मी :

प्रकाशित मिति : ६ कार्तिक २०७९, आइतवार १७:१०