सूचनाको शक्ति - The Power Of Information

        

राजनीति

कहाँ-कहाँ भिड्दैछन् एमाले र एकीकृत समाजवादी ? को-को पुग्लान् संसदमा ?

नेकपा एकीकृत समाजवादीको भागमा परेका २० सिटमध्ये १९ निर्वाचन क्षेत्रमा एकीकृत समाजवादीले नेकपा एमालेसँग प्रतिस्पर्धा गर्दैछ ।

आगामी मंसिर चार गते हुने निर्वाचनमा प्रतिनिधिसभातर्फ नेकपा एकीकृत समाजवादीले २० सिट पाएको छ । सत्तारुढ गठबन्धनले संघीय संसद्का १६५ सिट बाँडफाँड गरेसँगै एकीकृत समाजवादीको भागमा २० सिट परेको हो ।

यी २० मध्ये १९ निर्वाचन क्षेत्रमा एकीकृत समाजवादीले ‘माउ’ पार्टी अर्थात् नेकपा एमालेसँग प्रतिस्पर्धा गर्दैछ । सिराहा–४ मा धर्मनाथप्रसाद साहबाहेक एकीकृत समाजवादीका सबै उम्मेदवारले एमालेका उम्मेदवारसँग प्रतिस्पर्धा गर्दै छन् ।

माधव–अजय (रौतहट–१)

एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल गृहजिल्ला रौतहट–१ बाट निर्वाचन लड्दै छन् । रौतहट–१ मा एमालेले गौर नगरपालिकाका पूर्वमेयर अजय गुप्तालाई उठाएको छ । उनी लोसपा छाडेर केही समयअघि मात्रै एमाले प्रवेश गरेका थिए ।

गत वैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनमा उनी एकीकृत समाजवादीका उम्मेदवारसँग मेयरमा पराजित भएका थिए । स्थानीय तह निर्वाचनमा एकीकृत समाजवादीले रौटहटमा राम्रै नतिजा ल्याएको थियो । नेकपा माओवादीको समेत राम्रो प्रभाव रहेको यस क्षेत्रमा माधव सत्तारुढ गठबन्धनका उम्मेदवार हुन् । त्यसकारण माधवलाई सहज देखिन्छ ।

झलनाथ–महेश (इलाम–१)

एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाल पनि एमालेकै उम्मेदवारसँग प्रतिस्पर्धा गर्दैछन् । इलाम क्षेत्र नम्बर १ बाट उम्मेदवारी दिएका खनालले एमालेका महेश बस्नेतसँग प्रतिस्पर्धा गर्दै छन् ।

यसअघि खनालका लागि मत मागेका बस्नेत यो पटक भने आफैं प्रतिस्पर्धी भएका छन् । यही क्षेत्रबाट खनालले निरन्तर निर्वाचन जित्दै आएका छन् । उनले ०४८, ०५१, ०६४, ०७० र ०७४ मा जितेका थिए । महेश भने एमालेको नयाँ अनुहार हुन् । खनाल एकीकृत समाजवादीमा लागेपछि यसपटक बस्नेतले प्रतिनिधिसभा निर्वाचनमा अवसर पाएका हुन् ।

राजेन्द्र–भूमिप्रसाद (धादिङ)

हाल बागमती प्रदेशमा मुख्यमन्त्री रहेको एकीकृत समाजवादीका नेता राजेन्द्र पाण्डे धादिङबाट प्रतिनिधिसभा सदस्यको लागि लड्दै छन् । उनीसँग व्यक्तिगत रूपमा समेत निकट मानिने भूमिप्रसाद त्रिपाठीलाई एमालेले प्रतिस्पर्धी बनाएको छ । त्रिपाठीे ०७४ मा एमालेबाट निर्वाचित सांसद हुन् । उनी हाल एमाले धादिङका अध्यक्षसमेत हुन् ।

जगन्नाथ–अम्बरबहादुर (उदयपुर–२)

एकीकृत समाजवादीका उपमहासचिव जगन्नाथ खतिवडा र एमालेका अम्बरबहादुर रायमाझीबीच उदयपुर–२ मा प्रतिस्पर्धा हुँदैछ । जगन्नाथ सत्ता गठबन्धनका साझा उम्मेदवार हुन् । जगन्नाथ लामो समय एमालेमा रहेर राजनीतिक गरेका थिए ।

रामकुमारी–गोकर्ण (गुल्मी–२)

नेकपा एकीकृत समाजवादीकी सचिव रामकुमारी झाँक्री र एमालेका सचिव गोकर्ण विष्ट एमालेका पुराना सहकर्मी हुन् । यो निर्वाचनमा यी दुई नेताले गुल्मी–२ बाट एकअर्काबीच प्रतिस्पर्धा गर्दैछन् । एमालेमा हुँदा पनि दुवै माधव नेपाल समूहमा थिए । तर पार्टी विभाजन भएसँगै दुई नेता छुट्टिए । ०७४ मा झाँक्री समानुपातिकतर्फ सांसद भएका थिए भने विष्ट यही क्षेत्रबाट निर्वाचित भएका थिए ।

सोमप्रसाद–ठाकुर गैरे (पाल्पा–२)

पाल्पा–२ मा पनि यसपटक एमाले र पूर्वएमालेबीचै प्रतिस्पर्धा हुँदैछ । कुनैबेला एमालेका प्रभावशाली नेता रहको सोमप्रसाद पाण्डेले एकीकृत समाजवादीका तर्फबाट उम्मेदवारी दिएका छन् भने एकालेको तर्फबाट ठाकुर गैरेले उम्मेदवारी दिएका छन् । हरेक निर्वाचनमा पाण्डेका सहयोगी बन्दै आएका गैरे यसपटक भने उनीसँगै प्रतिस्पर्धा गर्दैछन् । पाण्डे एकीकृत समाजवादीमा लागेसँगै गैरेले अवसर पाएका हुन् ।

मेटमणि–शान्ता (दाङ–१)

एकीकृत समाजवादी नेता एवं शहरी विकासमन्त्री मेटमणि चौधरी र एमालेका पोलिटब्यूरो सदस्य शान्ता चौधरी दाङ–१ मा चुनावी प्रतिस्पर्धामा छन् । ०७४ को निर्वाचनमा मेटमणिलाई जिताउने अभियानमा खटिएका शान्त यसपटक उनीसँगै प्रतिस्पर्धा गर्दैछन् ।

जीवनराम–शिव राजवैद्य (काठमाडौं–८)

काठमाडौं–८ मा पनि एमाले र पूर्वएमालेबीच मुख्य प्रतिस्पर्धा हुँदैछ । एकीकृत समाजवादीका नेता तथा संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री र एमाले काठमाडौं जिल्ला समन्वय समितिका उपप्रमुख शिव राजवैद्यले उम्मेदवारी दर्ता गराएका छन् । अघिल्लो निर्वाचनमा एमालेबाट जीवनराम श्रेष्ठले जितेका थिए ।

पार्टी विभाजन भएपछि श्रेष्ठ एकीकृत समाजवादीमा लागे । र, अहिले उनी एकीकृत समाजवादीका उम्मेदवार बनेका छन् । काठमाडौं–८ मा एमाले अध्यक्ष केपी ओलीले अष्टलक्ष्मी शाक्यलाई टिकट दिएका थिए । तर, उनले अस्वीकार गरेपछि राजवैद्यले अवसर पाएका हुन् ।

प्रेम आले–गौरी वली (डोटी)

एक मात्र निर्वाचन क्षेत्र रहेको डोटीमा एमाले र पूर्वएमालेबीच प्रतिस्पर्धा हुँदैछ । डोटीमा एकीकृत समाजवादीका नेता प्रेमबहादुर आले र नेकपा एमालेका गौरी वलीले उम्मेदवारी दिएका छन् । पार्टी विभाजनका वेला आलेले महत्वपूर्ण भूमिका खेलेका थिए । १० बुँदे पक्षधर एमालेमै रहँदा आलेले पार्टी विभाजनका लागि केही सांसदसहित नेपाललाई साथ दिएका थिए । वली भने एमालेको पोलिटब्युरो सदस्य तथा डोटी इन्चार्ज हुन् ।

भानुभक्त–ऐन महर (बझाङ)

बझाङमा कुनै बेलाका राजनीतिक गुरु–चेलाबीच प्रतिस्पर्धा हुँदैछ । एकीकृत समाजवादीका स्थायी समिति सदस्य भानुभक्त जोशी र एमालेका ऐन महरले उम्मेदवारी दिएका छन् । महर पूर्वमन्त्री जोशीका पूर्वकार्यकर्ता हुन् । एमाले विभाजनपछि जोशी एकीकृत समाजवादीमा लागेका थिए ।

श्रीनाथ–विद्या (कास्की–२)

कास्की–२ मा एकीकृत समाजवादीका श्रीनाथ बराल र एमालेका विद्या भट्टराईबीच प्रतिस्पर्धा हुँदैछ । अघिल्लो निर्वाचनमा कास्की २ बाट रवीन्द्र अधिकारी निर्वाचित भएका थिए । हेलिकोप्टर दुर्घटनामा परी अधिकारीको निधन भएपछि सो क्षेत्रमा उपनिर्वाचन भयो । एमालेले अधिकारीपत्नी विद्या भट्टराईलाई उम्मेदवार बनायो । भट्टराईलाई राजनीतिमा ल्याउन र जिताउन बरालले भूमिका खेले । र, भट्टराईले जितिन् । तर, यसपटक बराल उनै भट्टराईसँग भिड्दै छन् ।

शेरबहादुर–झपट (अछाम–१)

अछाम–१ मा पनि एकाले र पूर्वएमाले नै चुनावी मैदानमा छन् । सत्तारूढ गठबन्धनबाट एकीकृत समाजवादीका शेरबहादुर कुँवर र एमालेका झपट बोहराले उम्मेदवारी दिएका छन् । एमालेमा रहँदा भीम रावलनिकट कुँवर पार्टी विभाजन भएपछि एकीकृत समाजवादीमा लागेका थिए । यो क्षेत्रमा रावलको नाम एकल सिफारिस भएपनि एमाले अध्यक्ष ओलीले रावललाई टिकट नदिई केही महिनाअघि माओवादीबाट एमाले प्रवेश गरेका बोहरालाई दिएका छन् ।

कृष्णलाल–प्रेम (ललितपुर–२)

ललिलपुर–२ मा पनि एमाले र पूर्वएमालेबीचै प्रतिस्पर्धा हुँदैछ । प्रतिनिधिसभा सदस्यको लागि एकीकृत समाजवादीका कृष्णलाल महर्जन र एमालेका प्रेम महर्जनले उम्मेदवारी दिएका छन् । कृष्णलाल निवर्तमान सांसद हुन भने प्रेम संघीय निर्वाचनमा नयाँ अनुहार हुन् । एमालेको विभाजनसँगै कृष्णलाल समाजवादीमा लागेपछि प्रेमले मैका पाएका हुन् ।

अम्मर–रविन्द्रराज (दैलेख–१)

दैलेख–१ मा पनि एकीकृत समाजवादी र एमालेबीच नै प्रतिस्पर्धा हुँदैछ । एकीकृत समाजवादीका अम्मरबहादुर थापा र एमालेका रवीन्द्रराज शर्माले उम्मेदवारी दिएका छन् । ०७४ मा एमाले नेता रविन्द्रराज शर्माका लागि मत मागेका अम्मर यो पाली शर्मासँगै भिड्दैछन् ।

धनबहादुर–गणेशबहादुर (डोल्पा)

एकीकृत समाजवादीका नेता धनबहादुर बुढा र एमालेका नेता गणेशबहादुर शाही डोल्पामा आमनेसामने हुँदैछन् । पार्टी विभाजनपछि बुढा र शाही एकीकृत समाजवादीमा लागेका थिए । प्रतिनिधिसभाको टिकट पाउने भएपछि शाही केही समयअघि एमालेमा फर्किएका थिए ।

कृष्णकुमार–एकवाल (बारा–४)

बारा–४ मा एकीकृत समाजवादी र एमालेबीच प्रतिस्पर्धा हुँदैछ । यस निर्वाचन क्षेत्रबट एकीकृत समाजवादीका निवर्तमान सांसद कृष्णकुमार श्रेष्ठ र नेकपा एमालेका एकवाल मियाँले उम्मेदवारी दिएका छन् । ०७४ को निर्वाचनमा श्रेष्ठ तनहुँ १ बाट निर्वाचित भएका थिए ।

श्रेष्ठले कांग्रेस नेता रामचन्द्र पौडेललाई उक्त क्षेत्र छाडेर यसपटक बारा ४ बाट उम्मेदवारी दिएका हुन् । ०७४ को निर्वाचनमा एमालेबाट उम्मेदवार बनेका श्रेष्ठले पौडेललाई पराजित गरेका थिए । पार्टी विभाजनसँगै उनी एकीकृत समाजवादीमा लागेका हुन् ।

प्रकाश–राजेन्द्रविर (सल्यान)

सल्यानमा पनि एकीकृत समाजवादी र एमालेबीच प्रतिस्पर्धा हुँदैछ । एकीकृत समाजवादीका उपमहासचिव प्रकाश ज्वाला र एमालेका राजेन्द्रविर रायले सल्यानबाट उम्मेदवारी दिएका छन् । कर्णाली प्रदेशमा फ्लोर क्रस गरेर ज्वालले एमालेमा विद्रोह गरेका थिए । राय उनकै पूर्वकार्यकर्ता हुन् ।

विरोध–महेश (मकवानपुर–२)

एकीकृत समाजवादीका विरोध खतिवडा र उनकै पूर्वकार्यकर्ता महेश बर्तौलाबीच मकवानपुर–२ मा प्रतिस्पर्धा हुँदैछ । यसअघिको निर्वाचनमा खतिवडालाई जिताउन हिँडेका बर्तौता यसपटक उनीसँगै चुनावी मैदानमा छन् ।

विष्णु पौडेल–राज गुरुङ (रुपन्देही–२)

रुपन्देही–२ मा प्रतिनिधिसभा सदस्यका लागि मनोनयन दर्ता गराएका राजु गुरुङको उम्मेदवारी सदर भए यहाँ पनि एकीकृत समाजवादी र एमालेबीच नै प्रतिस्पर्धा हुनेछ । यस निर्वाचन क्षेत्रमा एमालेका उपाध्यक्ष विष्णु पौडेल र एकीकृत समाजवादीका नेता गुरुङले उम्मेदवारी दिएका थिए ।

तर, गठबन्धनका साझा गुरुङको मनोनयन भने खारेज भएको छ । निर्वाचन आयोगले बैंकिङ कसूर मुद्दामा कालोसूचीमा रहेको भन्दै गुरुङको उम्मेदवारी खारेज गरेको थियो । उम्मेदवारी खारेज भएपछि गुरुङ त्यसविरुद्ध सर्वोच्च पुगेका छन् । सर्वोच्चले गुरुङको उम्मेदवार सदर गरे यहाँ पनि एकीकृत समाजवादी र एमालेबीचै प्रतिस्पर्धा हुनेछ ।

प्रकाशित मिति : १ कार्तिक २०७९, मंगलवार ०६:५५