सूचनाको शक्ति - The Power Of Information

        

देशभर वर्षाको सम्भावना, कुन प्रदेशमा कस्तो?

आज (मंगलबार) पनि देशभर वर्षाको सम्भावना रहेको मौसमविद्ले बताएका छन्।

अहिले बिहान पनि मधेस प्रदेश, प्रदेश १ का थोरै स्थानमा तथा सुदूरपश्चिम र गण्डकीका एक दुई स्थानमा हल्का वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाका मौसमविद् सञ्जीव अधिकारीले जानकारी दिए।

उनका अनुसार आज दिउँसो मौसम देशभर आंशिकदेखि सामान्य बदली छ। यस क्रममा प्रदेश १, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा र बाँकी प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।

दिउँसो लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको मौसमविद् अधिकारीले जानकारी दिए।

यस्तै राति पनि लुम्बिनी प्रदेश र देशका पहाडी भेगका केही स्थानमा तथा तराईका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा हुने सम्भावना देखिएको छ।

यस क्रममा गण्डकी र लुम्बिनी प्रदेशका एक दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको मौसमविद् अधिकारीले जानकारी दिए।

यसैबीच आज दिउँसो काठमाडौं उपत्यकामा पनि हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जानकारी उनले दिएका छन्।

प्रकाशित मिति : ४ आश्विन २०७९, मंगलवार ०८:०५