सूचनाको शक्ति - The Power Of Information

        

बहालवाला सई र पूर्वप्रहरी मिलेर मोबाइल पसलमा लुटपाट गरेपछि…

नयाँ बानेश्वरस्थित कात्यानी चोकमा सञ्चालित ‘केएस मोबाइल सप’मा आइतबार दुईजना ग्राहक मोबाइल किन्ने निहुँमा गए । फेसबुकमा बिक्रीमा राखेको मोबाइल हेरेर उनीहरू मोबाइल किन्न पुगेका थिए ।

कात्यानी चोक स्थित कपिल श्रेष्ठले सञ्चालन गरेको पसलमा उनीहरूले अनलाइन बिक्रीमा राखेको मोबाइल मन परेन भन्दै नयाँ देखाउन आग्रह गरे । कपिलले आफैँले चलाएको मोबाइल देखाएर ‘यो मन पर्छ भने पनि लैजानु’ भने ।

उनीहरूले बिल देखाउन आग्रह गरे । कपिलले भने, ‘विदेशबाट पठाइदिएको हो, बिल छैन ।’ त्यसपछि ती ग्राहकले भने, ‘हामी प्रहरी हौँ, बिल बिनाको सामान बेच्ने ?’ कपिलले चलाएको र विक्रीमा राखेको सहित ३ वटा आईफोन लिएर उनीहरू हिँडे ।

मोबाइल लुटेर हिँड्नेमा सिन्धुपाल्चोक घर भएका ४१ वर्षीय बालसुन्दर सापकोटा र ४० वर्षीय अर्जुन कार्की थिए । बालसुन्दर पूर्व असई र अर्जुन पूर्व हवल्दार हुन् । पसलमा मोबाइल लुटपाट हुँदै गर्दा उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी नायव निरीक्षक (सई) मुन सापकोटा पसल बाहिर थिए ।

सई सापकोटाले रेकी गरेर पूर्व प्रहरीहरूले लुटेको अनुसन्धानबाट थाहा भएको छ । अपराध अनुसन्धान कार्यालयले लुटमा संलग्न दुई जनालाई पक्राउ गरेको छ । तर, लुटपाटको रेकी गरेको खुले पनि अपराध अनुसन्धान कार्यालयका एसएसपी जनक भट्टराईले प्रनानी सापकोटामाथि अनुसन्धान अघि बढाएका छैनन् ।

केहीदिन अघिमात्र सरुवा भएर अनुसन्धान कार्यालयमा गएका सापकोटा लुटपाटको घटनामा संलग्न देखिँदा विभागीय कारबाही हुनबाट समेत जोगिएपछि त्यहाँ कार्यरत प्रहरीहरु आश्चर्यमा परेका छन् । लुटेराहरूले नक्कली पेस्तोलसमेत देखाए । कपिललाई उनीहरूले एउटा नम्बर दिएका थिए ।

सो नम्बरमा कपिलले फोन गर्दा प्रहरी वृत्त सोह्रखुट्टेका प्रहरीले रिसिभ गरेका थिए । फेसबुकमा राखेको मोबाइल किनबेच गर्नेबारे कुरा हुँदा कपिलले ग्राहकको नाम थाहा भएका थिए । सोह्रखुट्टेमा फोन गरेर उनले सोधे, ‘बालसुन्दर सापकोटा र अर्जुन कार्की त्यहाँ कार्यरत हुनुहुन्छ ?’ जवाफ आयो, ‘त्यो नामका प्रहरी छैनन् ।’ त्यसपछि मोबाइल पसल सञ्चालकले बानेश्वर प्रहरीलाई खबर गरेर घटनाबारे जानकारी गराएका हुन् ।

प्रकाशित मिति : २८ भाद्र २०७९, मंगलवार १४:४५