सूचनाको शक्ति - The Power Of Information

        

प्रतिनिधी सभा निर्वाचन:

बाँके क्षेत्र नम्बर ३ बाट कांग्रेसका शिर्ष नेतासहित ११ जना सिफारिस

समानुपातिकतर्फ ९ जनाको नाम पठाइयो

आसन्न प्रतिनिधी सभा निर्वाचनका लागि बाँकेको क्षेत्र नम्बर ३ मा तीन जना केन्द्रिय शिर्ष नेतासहित नेपाली कांग्रेसका ११ जनाले आकांक्षा राखेका छन् । आकांक्षा राखेका सबैको नाम क्षेत्रीय कार्यसमिति क्षेत्र नम्बर ३ ले बिहीबार जिल्ला कार्यसमिति समक्ष सिफारिस गरेको छ ।

क्षेत्रीय सभापति मोहम्मद नक्की खाँले दिएको जानकारी अनुसार प्रत्यक्षतर्फबाट नेपाली कांग्रेसका केन्द्रिय उपसभापति पूर्णबहादुर खड्का, सहमहामन्त्री किशोरसिंह राठौंर र केन्द्रिय सदस्य डा. आरजु राणा देउवाको नाम उम्मेदवारका लागि सिफारिस गरिएको हो ।

यस्तै बाँकेका कांग्रेस नेताहरु बादशाह कुर्मी, आशा बि.क, मेघराज ओली, लक्ष्मणनारायण शाह, मोहम्मद नक्की खाँ, देवबहादुर खत्री, उत्तमराज घिमिरे र तेजेन्द्र कँडेलको नाम पनि सिफारिस गरिएको छ ।

यसैगरी समानुपातिकतर्फ ९ जनाको नाम सिफारिस गरिएको छ । समानुपातिकमा कांग्रेस बाँकेका पुर्वसभापति कृष्णमान श्रेष्ठसहित कृष्ण बिके रसाईली, हरिभक्त उप्रेती, गगनबहादुर बिक, अनिता योगी, शेरबहादुर गुरुग, अर्जुन पाण्डे, पुष्पा बिक र चक्रबहादुर मल्ल सिफारिसमा परेका छन् ।

प्रत्यक्ष र समानुपातिकमा उम्मेदवार बन्न चाहने नेताहरुले इच्छा राखेको आधारमा मर्यादाक्रम अनुसार सिफारिस गरिएको सभापति खाँले बताए ।

‘केही साथीहरुले निवेदन पनि दिनु भएको थियो,’ उनले भने ‘केन्द्रिय नेताहरुले चाही हामीसँग फोनमार्फत क्षेत्र नम्बर ३ मा चुनाव लड्ने ईच्छा जाहेर गर्नु भएको हुँदा सिफारिस गरिदिएका हौं ।’

२०७४ सालको निर्वाचनमा उक्त क्षेत्रमा बाम गठबन्धनका तर्फबाट नेकपा एमालेका नन्दलाल रोकाय निर्वाचित भएका थिए । नेपाली कांग्रेसका उम्मेदवार बादशाह कुर्मीलाई रोकायले पराजित गरेका हुन् ।

यसपटक सत्तारुढ पाँच दलिय गठबन्धन बनेकाले नेकपा एमालेलाई जित्न कठिन देखिन्छ । गठबन्धनका तर्फबाट नेपाली कांग्रेसको भागमा उक्त क्षेत्र पर्ने चर्चा चलिरहेका बेला तीन जना शिर्ष नेताले आकांक्षा राखेका हुन् ।

प्रकाशित मिति : १६ भाद्र २०७९, बिहीबार २०:२६