सूचनाको शक्ति - The Power Of Information

        

अर्थ–विकास

राप्ती नदीमा ४२ किलोमिटर तटबन्ध बनाउन भारत सहमत

राप्ती नदीमा ४२ किलोमिटर लामो पक्की तटबन्ध निर्माण गर्न सहमत भएर १० अर्ब ४४ करोड ८० लाख रुपैयाँ अनुदान दिने भएको हो ।

फाइल तस्वीर

बाँके जिल्लामा कटान र डुबान नियन्त्रण गर्नका लागि राप्ती नदीमा पक्की तटबन्ध निर्माण गर्न पहिलो पटक भारत सरकार सहमत भएको छ ।

भारतीय पक्षले बाँकेको राप्ती नदीमा ४२ किलोमिटर लामो पक्की तटबन्ध निर्माण गर्न सहमत भएर १० अर्ब ४४ करोड ८० लाख रुपैयाँ अनुदान दिने भएको छ । करिब डेढ दशकदेखि सो तटबन्ध निर्माणका लागि नेपालले भारतसँग माग गर्दै आए पनि विभिन्न समय र चरणमा गरिएको छलफलपछि अहिले आएर सहमत भएको हो ।

हालै काठमाडौँमा सम्पन्न भएको भारत र नेपालका सिँचाइ विभागका उच्च अधिकारीको १४ औँ संयुक्त बैठकमा सोबारेमा सहमति भई अनुदान बजेटसमेत उपलब्ध गराउने निर्णय भएको जनताको तटबन्ध कार्यक्रमले जनाएको छ । उनले तटबन्ध निर्माणपछि नदी वरिपरिका हजारौं नागरिकको जीवन सुरक्षित हुने बताए ।

जनताको तटबन्ध कार्यक्रम फिल्ड कार्यालय नम्बर ६ लमहीका प्रमुख जितबहादुर थापाले बाँकेको राप्ती नदीमा ४२ किलोमिटर पक्की तटबन्ध बनाउन भारत सहमत भएको बताए । नेपाली टोलीको तर्फबाट बैठकमा सहभागी भएका थापाले पक्की तटबन्ध बनाउन यसरी पहिलो पटक भारतलाई सहमत गर्न सक्नु निकै उपलब्धिमूलक रहेको जनाए ।

लामो छलफलपछि राप्ती नदीको दुवैतिर ३५ किलोमिटर पक्की र सात किलोमिटर माटोको तटबन्ध गरेर ४२ किलोमिटर निर्माण गर्न भारतीय पक्ष सहमत भएको फिल्ड कार्यालयका प्रमुख थापाले बताए । थापाका अनुसार सहमतिपछि पक्की तटबन्ध बनाउन भारतले बजेट स्वीकृत गरेको हो ।

फिल्ड कार्यालयका प्रमुख थापाका अनुसार तटबन्धन बनाउन नेपाली प्राविधिक टोलीले डीपीआरसहित १२ अर्ब ९७ करोड रुपैयाँको बजेट पेस गरेको थियो । तर दुई अर्ब ५३ करोड रुपैयाँ कटौती गर्दै निर्माणमा सघाउन भारत सहमत भएको थियो । नेपाल–भारत सीमा क्षेत्रमा पर्ने बाँकेको होलिया नजिकको पिलर नं.५४ बाट तटबन्ध निर्माण गर्ने योजना छ ।

डुडुवा गाउँपालिका–१ देखि उत्तर–पश्चिम कचनापुर र उत्तर–पूर्व बिनौनासम्म गरी ४२ किलोमिटरमा तटबन्ध निर्माण हुनेछ । सो तटबन्ध पाँच वर्षभित्र निर्माण गरिसक्ने सहमति पनि बनेको छ । पक्की तटबन्ध निर्माणका लागि नेपालले एक अर्ब रुपैयाँ लगानी गर्नुपर्ने सहमति भएको प्रमुख थापाले बताए ।

दुवै देशका सम्बन्धित अधिकारी संलग्न रहेको सब–कमिटीको बैठक भदौ ६ गते काठमाडौँमा बस्ने पत्र आइसकेको जनाउँदै प्रमुख थापाले सो बैठकमा तटबन्धबारे अन्तिम निर्णय गरेर केही महिनापछि हुने १५ औँ उच्चस्तरीय संयुक्त बैठकमा पेस गर्ने र त्यसलगत्तै ठेक्का प्रक्रियामा जाने बताए ।

भारतले सीमानजिकै बनाएको लक्ष्मणपुर बाँध, २२ किलोमिटर लामो कलकलवा तटबन्ध र अग्लो सडकका कारण पानीको बहाव रोकिँदा बर्सेनि बाँकेको ३० हजार हेक्टर नेपाली भूमि डुबानमा पर्दै आएको छ । डुबानका कारण हरेक वर्ष चार हजार ५०० घरपरिवारका करिब २७ हजार ७५० नागरिक प्रभावित हुने गरेका छन् ।

दुई देशबीच उच्चस्तरीय भ्रमणमा पनि बाँकेको डुबान समस्या छलफलको मुद्दा बन्ने गरेको थियो । अहिले आएर भारतीय पक्षले समस्या समाधानमा चासो देखाएको छ । तटबन्ध निर्माणपछि लामो समयदेखि कटान र डुबानको जोखिममा बस्दै आएका नागरिकको जीवन रक्षामा सहयोग पुग्ने लक्ष्मणपुर बाँधपीडित सङघर्ष समितिका अध्यक्ष जगदीशबहादुर सिंहले बताए ।

प्रकाशित मिति : २ भाद्र २०७९, बिहीबार ०८:५१