सूचनाको शक्ति - The Power Of Information

        

विप्रेषणमार्फत १४ वर्षमा ८४ खर्ब ६६ अर्ब भित्रियो

नेपालको अर्थतन्त्रको महत्वपूर्ण हिस्सा विप्रेषण बन्दै आएको छ । सोही क्रममा पछिल्लो १४ वर्षमा (आव २०६५–०६६ देखि २०७८–०७९ सम्म) ८४ खर्ब ६६ अर्ब रुपैयाँ विप्रेषण आप्रवाह भएको छ । नेपाली अर्थतन्त्रको मेरुदण्ड बन्दै आएको विप्रेषण आप्रवाहले बढ्दै गएको वैदेशिक रोजगार बोर्डको सचिवालयले जनाएको छ ।

विप्रेषणको तथ्याङ्कहरूलाई हेर्दा आजभन्दा १२–१३ वर्षअघि विप्रेषण डेढदेखि साढे दुई अर्बमा सीमित थियो, तर पछिल्लो समय तुलनात्मक रुपमा वृद्धिलाई हेर्दा शतप्रतिशत भन्दा बढी रहेको छ । वैदेशिक रोजगार बोर्डका बोर्डका कार्यकारी निर्देशक राजनप्रसाद श्रेष्ठका अनुसार रेमिटेन्स बढे पनि विगतमा मुलुकको अर्थतन्त्र र हालको अर्थतन्त्रलाई हेर्न हो भने रेमिटेन्स आप्रवाह समानान्तर छ भन्न सकिन्छ ।

विश्व बजार र नेपालको बजारमा हेर्ने हो भने आजको मुद्रास्फिति, मुद्रा सञ्चिति, मुद्राको मूल्यांकन लगायतका सबै बढेको छ । त्यसैले गर्दा रेमिटेन्सको आकारमा वृद्धि भए पनि आजको अर्थतन्त्रलाई हेर्ने हो भने त्यसमा धेरै वद्धि भएको मान्न नसकिने उनको भनाई छ । पछिल्लो चार आर्थिक वर्षमा मात्रै करिब ४० खर्ब रुपैयाँ विप्रेषण भित्रेको छ ।

गत आवमा नौ खर्ब ८६ अर्ब रुपैयाँ, आव २०७७–०७८ मा नौ खर्ब ६१ अर्ब, आव २०७६–०७७ मा आठ खर्ब ७५ अर्ब रुपैयाँ र आव २०७५–०७६ मा आठ खर्ब ७९ अर्ब रुपैयाँ विप्रेषण मुलुकमा भित्रिएको थियो । यसैबीच १४ वर्षको अवधिमा ५० लाख ८३३ जना (पुनः श्रम स्वीकृति बाहेक) वैदेशिक रोजगारीमा जानका लागि श्रम स्वीकृति लिएका छन् ।

जसमा ४७ लाख १४ हजार ५९१ जना पुरुष र दुई लाख ८६ हजार २४२ जना महिला रहेका छन् । उनीहरूले रेमिटेन्स प्रवाहमा महत्वपूर्ण भूमिका निर्वाह गरेका छन् । श्रम स्वीकृति लिदैमा सम्पूर्ण युवाहरू विदेश गएको मान्न सकिदैन तर श्रम स्वीकृति लिएका मध्ये करिब ८० प्रतिशतभन्दा बढी युवाहरू विदेश जाने गरेको बोर्डले जनाएको छ ।

काठमाडौँमा आयोजिक एक औपचारिक कार्यक्रममा बोल्दै अर्थतन्त्रको एउटा खम्बाको रुपमा देखिएको रेमिटेन्स आप्रवाहलाई व्यवस्थित बनाउनु अहिलेको आवश्यकता भएको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव एकनारायण अर्यालले बताए । सचिव अर्यालले रेमिटेन्स आप्रवाह गर्ने युवाहरूको पुँजी, सीप र प्रविधिको स्वदेशमा नै उपयोग गर्नुपर्ने बताए ।

‘विदेशबाट फर्केका युवाहरूको पुँजी, सीप र प्रविधिको प्रयोग गरी मुलुकमा स्वरोजगार वा उद्यमशीलता प्रवर्द्धनमा सरकारले ध्यान दिनु आवश्यक छ,’ उनले भने, ‘यसो भएमा गर्दा उनीहरूले मुलुकमै रहेका अन्य युवाहरूलाई रोजगारी दिन सक्छन् । युवाहरू मुलुकमा नै बस्दा अर्थतन्त्रमा योगदानसमेत पुग्छ ।’ यसका लागि मन्त्रालयले वैदेशिक रोजगारीबाट फर्केका व्यक्तिको लागि पुनः एकीकरण कार्यक्रम कार्यान्वयन गर्न लागेको उनले बताए ।

यस्तै, श्रममन्त्री शेरबहादुर कुँवरले वैदेशिक रोजगारीलाई व्यवस्थित बनाउन आवश्यक रहेको बताए । ‘वैदेशिक रोजगारीलाई व्यवस्थित गर्ने क्रममा विदेश जाने युवाहरू दक्ष बनाउनु आवश्यक छ, यसका लागि उनीहरूलाई आवश्यक तालिम दिनुपर्छ,’ उनले भने, ‘सीप भएका युवाहरू दक्ष कामदारभित्र पर्ने हुँदा यसले विप्रेषण आप्रवाहमा समेत राम्रो प्रभाव पार्छ ।’ अर्थविद् डा.चन्द्रमणि अधिकारीले विप्रेषण आप्रवाह समग्रलाई एकै स्थानमा हेर्दा बढी देखिए पनि त्यो धेरै नभएको बताए ।

‘अदक्ष कामदार जाँदा रेमिटेन्स बढ्न सकेको छैन यो धेरै युवाहरूको थोरै थोरै रकम धेरै देखिएको हो,’ अर्थविद् अधिकारीको भनाई छ । यस्तै, कोभिड १९ का कारण वैदेशिक रोजगार अन्यौलमा पर्दा विप्रेषणको अवस्था कस्तो होला भन्ने चिन्ता सबैमा रहेको थियो । तर, कोभिडमा पनि विप्रेषण आप्रवाह निरन्तर भयो भने सुरुवाती समयमा बढेको थियो ।

प्रकाशित मिति : ३० श्रावण २०७९, सोमबार १८:५३