सूचनाको शक्ति - The Power Of Information

        

माओवादी केन्द्रको बैठक बस्दै :

जनार्दन फेरि अर्थ मन्त्रालय फर्कलान ?

पार्टी पदाधिकारीका बारेमा टुङ्गो लगाउने

माओवादी केन्द्रको स्थायी समिति बैठक आज बस्दैछ । आजको बैठकबाट पार्टी पदाधिकारीका बारेमा टुङ्गो लगाउने तयारी रहेको पार्टीका प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिनुभयो ।

आजको बैठकमा पूर्व अर्थमन्त्री जनार्दन शर्मा फेरि अर्थ मन्त्रालय फर्कने या नफर्कनेबारेमा पनि आवश्यक निर्णय गर्ने तयारी छ ।

संसदीय छानबिन विशेष समितिले करको दर निर्धारणमा अनधिकृत व्यक्तिको प्रवेश गरेको नदेखिएको निष्कर्ष निकालेपछि शर्माले फेरि अर्थ मन्त्रालय सम्हाल्ने चर्चा भइरहेको छ ।

छानबिन समितिको प्रतिवेदनले शर्मालाई निर्दोष साबित गरेको व्याख्या गर्दै उहाँ नै फेरि अर्थ मन्त्रालय फर्किने सम्भावनाबारे चर्चा हुन थालेको हो ।

उहाँ अर्थमा फेरि फर्कने या नफर्कने निर्णय शर्मामाथि नै निर्भर हुने माओवादी नेताहरुको भनाइ छ । तर समितिले पूर्ण रुपमा छानबिन नगरि प्रतिवेदन बुझाएको र आशङ्का गर्ने ठाउँ कायमै रहेकाले शर्मा फेरि मन्त्रालय फर्कनु नैतिक रुपमा उचित नहुने तर्क गर्नेहरु पनि छन् ।

प्रमुख प्रतिपक्ष एमालेले पूर्व अर्थमन्त्री शर्माले सफाइ पाएको रुपमा बुझ्न नमिल्ने टिप्पणी गरेको छ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संसदीय विशेष समितिले बहुमत र अल्पमतको आधारमा प्रतिवेदन ल्याएकाले प्रतिवेदन मान्न नरहेको समेत बताउनुभएको छ ।

पूर्व अर्थमन्त्री शर्मामाथि कर निर्धारणको प्रक्रियामा विश्वसनीयता, गोपनीयता, स्वच्छता र निष्पक्षतामाथि समेत प्रश्न खडा हुँदा तथ्यलाई संरक्षण गरेर स्पष्ट पार्ने काम मन्त्रालयबाट नभएको एमालेको भनाइ छ ।

जेठ १४ गतेको सीसीटीभी फुटेज सुरक्षित राख्ने सम्भावना हुँदाहुँदै पनि प्रक्रियालाई बेवास्ता गरेर प्रमाण सङ्कलनमा बाधा सिर्जना गरेको एमालेले भनेको छ ।

यस्तै कल डिटेल तथा मोबाइलको लोकेसनको खोजीका विषयमा कार्यविधि भए पनि सत्तापक्षका सांसदले त्यसमा अहमति जनाउँदा तथ्यमा पुग्ने बाटो नै बन्द भएको एमालेले दाबी छ ।

प्रकाशित मिति : १५ श्रावण २०७९, आइतवार ०८:१२