सूचनाको शक्ति - The Power Of Information

        

जयपृथ्वीले लगायो नदीजन्य पदार्थ उत्खननमा रोक

बझाङको सेती नदी र बाहुलीखोलामा नदीजन्य पदार्थको उत्खननमा रोक लगाइएको छ । जयपृथ्वी नगरपालिकाले उक्त नदीबाट ढुंगा, गिट्टी, बालुवा लगायतका नदीजन्य पदार्थको उत्खनन तथा निकासीमा रोक लगाएको हो ।

नदीबाट अवैध तरिकाले नदीजन्य पदार्थको उत्खनन भइरहेकाले साउन १ गतेदेखि लागु हुने गरी असोज मसान्तसम्मका लागि नदीजन्य पदार्थको उत्खननमा रोक लगाइएको जयपृथ्वी नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत अम्मराज जोशीले बताए ।

नगर प्रमुख चेतराज बजालको निर्देशनमा सेती नदी र बाहुली खोलामा भइरहेको प्राकृतिक श्रोतको दोहन रोक्न सूचना गरिएको अधिकृत जोशीले बताए । नगरपालिकाद्वारा जारी सूचना अनुसार नदीजन्य पदार्थ उत्खननमा रोक लगाएको र सूचनाको अवज्ञा गरेमा कानुन अनुुसार कारवाही हुने जनाइएको छ ।

सेती नदी र बाहुलीखोलाबाट निर्वाध रुपमा ढुंगा, गिट्टी, बालुवा लगायतका सामग्री उत्खनन् हुँदा नदी प्रणालीमै समस्या आएर बाढीको जोखिम रहेकाले नगरपालिकाले आफ्नो क्षेत्रभित्र रहेका बाहुली खोलाको किनार, गोलाई खोलामोरा, पुरानो बसपार्क, कपडे पुल वरिपरी, धौला बगर र तमैल लगायतका क्षेत्रबाट ढुंगा, गिट्टी, बालुवा उत्खनन गर्न रोक लगाएको छ ।

प्रकाशित मिति : ३ श्रावण २०७९, मंगलवार ०९:१४