नेपाली दुई युवती भारतको जंगलमा बलात्कृत भएका छन् । आइतवार बिहान ११ बजे भारतको बलरामपुर जिल्लाको मनिपुर बजार क्षेत्रमा रासन किन्न गएका राजपुर गाउँपालिका–६ निवासी दुई नेपालीलाई केही भारतीय युवाको समूहले बलात्कार गरेको सीमा प्रहरी चौकी खांग्रानाकाले जनाएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।
प्रत्येक आइतबारको दिन भारतको मनिपुरमा हाटबजार लाग्ने गर्छ । सोही दिन अविवाहित युवती पाँचजना र एकजना विवाहित गरेर छ जना महिला नेपालबाट मनिपुर बजारमा रासन किन्न जाने क्रममा नेपाल–भारत सीमावर्ती क्षेत्रको दक्षिणतर्फको जंगलमा रुखमा डोरीले बाधेर भारतीय युवाको समूहले बलात्कार गरेको कुरा बाहिरिएको हो ।
नेपाल–भारत सीमावर्ती क्षेत्रको दशगजादेखि करिब चार किलोमिटरको भारतीय जंगलमा दुई नेपाली युवती बलात्कृत भएको दाङका प्रहरी प्रमूख एसपी सुरेश काफ्लेले जानकारी दिए । उनीहरुसँग गएका अन्य चारजना महिलालाई कनचटमा पेस्तोल ताकेर ‘तिमीहरु बोल्यौं भने गोली हानेर मार्दिन्छु’ भनेर धम्काउँदै कुटपिट गरेर गम्भीर घाइते बनाएको डीएसपी काफ्लेले जानकारी दिए ।
ती युवकहरुले छजना महिलाको सुनको सिक्री, नाकमा लगाउने फुली, केही भारतीय रुपैयाँ र छ वटा मोबाइल समेत लुटपाट गरेको डीएसपी मुकुन्द रिजालले जानकारी दिए । महिलाहरुको हात, गाला, ढाडमा चोट लागेर सुम्ला उठेको छ भने लौराले खुट्टामा निलो डाम बस्ने गरी कुटपिट गरेर गम्भीर घाइते बनाइएको डीएसपी रिजालले जानकारी दिए ।
अहिले सीमा प्रहरी चौकी खांग्रानाका इञ्चार्जको कमाण्डामा स्थानीय बलात्कृत दुई युवती र अन्य चारजना घाइते महिलालाई औषधिका लागि भारतीय अस्पतालमा लगिएको एसपी काफ्लेले जानकारी दिए । थप विवरण आउन बाँकी छ । यस्तै हरैया थानाका अनुसार उक्त कार्यमा संलग्न पाँच जनामध्ये चारजना पक्राउ गरिएको भारतीय प्रहरीलाई उदृत गर्दै एसपी काफ्लेले जानकारी दिए । उनीहरूमाथि थप अनुसन्धान भइरहेको हरैया थानाले जनाएको उनले बताए ।
सत्यपाटी । बुटवल ।