सूचनाको शक्ति - The Power Of Information

        

नेपाल प्रेस युनियनको महाधिवेशन भदौ २१ र २२ गते हेटौंडामा गरिने

नेपाल प्रेस युनियनको नवौं महाधिवेशन स्थगित भएकोछ ।

नेपाल प्रेस युनियनका केन्द्रिय अध्यक्ष बद्री सिग्देलले एक प्रेस विज्ञप्ती जारी गर्दै युनियनको अधिवेशन स्थगित गरिएको जनाएका छन् । यसअघि युनियनको नवौँ महाधिवेशन यही जेठ १३ र १४ गते हेटौँडामा गर्ने तयारी थालिएको थियो ।

‘नेपाल प्रेस युनियनको नवौँ महाधिवेशन २०७९ साल जेठ १३ र १४ गते हेटौँडामा निर्धारण गरिएको सर्वविदितै छ । सो महाधिवेशनको तयारी अघि बढिरहेकै समयमा नेपाली काँग्रेसले गत बैशाख २१ गते प्रेस विज्ञप्ति जारी गरी भ्रातृ र शुभेच्छुक संस्थाको महाधिवेशन स्थानीय तहको निर्वाचनको अन्तिम मतपरिणाम सार्वजनिक नहुन्जेलसम्मका लागि स्थगित गर्न गरेको निर्देशन अवगत नै छ ।

यसै सन्दर्भमा अझै पनि कतिपय स्थानीय तहको निर्वाचन परिणाम पूर्ण रुपमा आइनसकेको अवस्था र मौसमी प्रतिकुलतालाई समेत मध्यनजर गर्दै नेपाल प्रेस युनियनको यही जेठ १३ र १४ गते निर्धारित नवौँ महाधिवेशन स्थगित गरी सो महाधिवेशन २०७९ साल भदौ २१ र २२ गते हेटांैडामा नै गर्ने गरी नेपाल प्रेस युनियन सचिवालयको यही जेठ १० गते बसेको आकस्मिक बैठकले निर्णय गरेको जानकारी गराइन्छ ।

आगामी भदौ २१ र २२ गतेका लागि तय भएको नवौँ महाधिवेशनको तयारीमा सम्पूर्ण युनियनकर्मीहरु क्रियाशीलताका साथ जुट्नु हुनेछ भन्ने विश्वास छ ।’ अध्यक्ष सिग्देलद्वारा जारी विज्ञप्तीमा आगडी भनिएकोछ ।

यस्तै अध्यक्ष सिग्देलले युनियनको ३१ औं स्थापना दिवस सभ्य र भब्यरुपमा मनाउन पनि अपील गरेकाछन् । ‘यही जेठ १३ र १४ गतेका लागि निर्धारित महाधिवेशन समयमै गर्न नसकिएकोप्रति क्षमायाचना गर्दै अब तोकिएको समयमा महाधिवेशन हुने विश्वासका साथ प्रतिवद्धता व्यक्त गर्दछौँ ।

साथै नेपाल प्रेस युनियनको ३१औँ स्थापना दिवस यही जेठ १३ गते विभिन्न कार्यक्रम गरी मनाउन सबै जिल्ला शाखा, प्रतिष्ठान शाखा र विदेशस्थित शाखाहरुलाई हार्दिक अपील समेत गर्दछौँ ।’ विज्ञप्तीमा उल्लेखछ

प्रकाशित मिति : १० जेष्ठ २०७९, मंगलवार १९:२८