सूचनाको शक्ति - The Power Of Information

        

स्थानीय तह निर्वाचन २०७९

नेपालगन्जमा गठबन्धनको विजयी र्‍याली

बाँकेको नेपालगन्ज उपमहानगरपालिकामा निर्वाचित भएपछि पाँच दलिय गठबन्धनले विजयी र्‍याली निकालेको छ । यहाँ नेपाली काँग्रेस र जनता समाजवादी पार्टी (जसपा)बीच गठबन्धन रहेको थियो ।

गठबन्धनका तर्फबाट नेपालगन्ज उपमहानगरपालिकाको नगर प्रमुखमा नेपाली कांग्रेसका प्रशान्त विष्ट र उपप्रमुखमा जनता समाजवादी पार्टी (जसपा)का कमरुद्धिन राई भारी मतले निर्वाचित भएका थिए ।

निर्वाचित भएको अवसरमा नेपाली काँग्रेस, जसपा, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चाले संयुक्त रुपमा र्‍याली निकालेका हुन् । नेपालगन्जको जमुनाहाबाट शनिबार बिहान सुरु भएको र्‍यालीले उपमहानगरका विभिन्न ठाउँको परिक्रमा गरेको छ ।

र्‍यालीमा बाँके क्षेत्र नम्बर २ का सांसद एवम् जसपाका नेता मोहम्मद ईस्तियाक राई, लुम्बिनी प्रदेशका वनमन्त्री एवम् कांग्रेस नेता सुरेन्द्र हमाल, कांग्रेस बाँकेका सभापति नारायणप्रसाद गौडेल, नवनिर्वाचित नगर प्रमुख विष्ट, उपप्रमुख राई लगायत नवनिर्वाचित जनप्रतिनिधी, गठबन्धनमा आवद्ध दलका नेता, कार्यकर्ताको ठुलो संख्यामा सहभागिता थियो ।

नेपालगन्जको नगर प्रमुख र उपप्रमुख पदमा पाँच दलबीच गठबन्धन भए पनि २३ वटा वडामा भने छुट्टाछुट्टै लडेका थिए । नेपालगन्जको वडामा गठबन्धन दलले बहुमत प्राप्त गरेका छन् । गठबन्धनका साझा उम्मेदवार विष्टले निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका पशुपतिदयाल मिश्रलाई दोब्बरभन्दा बढी मतान्तरले पराजित गरेका थिए ।

विष्टले २३ हजार ४६० मत ल्याउँदा मिश्रले ११ हजार ६७५ मत ल्याए । विष्ट र मिश्रबीच ११ हजार ७८५ मतान्तर रहेको छ । २०७४ मा प्रमुख जितेको राप्रपाका नन्दलाल वैश्यले ७ हजार ५९८ मत ल्याएर तेस्रो भएका छन् । उपप्रमुखमा पनि गठबन्धनका तर्फबाट जसपाका कमरुद्दिन राई निर्वाचित भएका छन् । उपप्रमुखमा राईले १७ हजार ९५० मत प्राप्त गरेका छन् ।

निकटतम प्रतिद्वन्दी एमालेकी शान्तिदेवी ढकालले १० हजार ९१५ मत प्राप्त गरिन् । राई र ढकालबीच ७ हजार ३५ मतान्तर छ । राप्रपाकी बिन्दु चर्तीमगरले १० हजार १३५ मत ल्याएकी छिन् । यसअघि नेपालगन्जमा राप्रपाले नगर प्रमुख र काँग्रेसले उपप्रमुख जितेको थियो । विष्ट र राईले जितेसँगै नेपालगन्जमा राप्रपाको सत्ता ढलेको छ । नेपालगन्जको मेयरमा डा.धवलशमशेर राणा थिए । उनी आबद्ध पार्टी राप्रपा यसपटक तेस्रो बनेको छ ।

प्रकाशित मिति : ७ जेष्ठ २०७९, शनिबार ११:५२