सूचनाको शक्ति - The Power Of Information

        

प्लास्टिक सर्जरी गर्दा २१ बर्षीया भारतीय नायिकाको मृत्यु

भारतको कन्नड सिनेमा क्षेत्रकी एक नायिकाले शरीरको तौल कम गर्न गरेको प्लास्टिक सर्जरीले २१ वर्षको उमेरमा मृत्यु भएको छ ।

कन्नड टेलिभिजनकी नायिका चेतना राजको २१ वर्षको उमेरमा बेंगलुरुको एक अस्पतालमा मृत्यु भएको हो । भारतीय सञ्चार माध्यमका अनुसार चेतना केहि दिनअघि तौल कम गराउन भन्दै प्लास्टिक सर्जरी गराउन गएकी थिइन् । सर्जरीमा भएको गल्तीका कारण उनको फोक्सोमा समस्या आएपछि मृत्यु भएको हो ।

चेतनाले आफ्नो सर्जरीका बारेमा आमा बुवालाई भने जानकारी दिएकी थिइनन् । उनी एक्लै आफ्ना साथीहरूसँग सर्जरी गराउन अस्पतालमा भर्ना भएकी थिइन् ।

सर्जरीपछि चेतनाको शरीरमा केहि जटिलता आउन थाल्यो र उनको फोक्सोमा तरल पदार्थ जम्न थाल्यो सोहि कारण उनको मृत्यु भएको समाचारमा उल्लेख गरिएको छ ।

यो घटनापछि चेतनाका परिवारले डाक्टरको लापरवाहीका कारण उनको मृत्यु भएको आरोप लगाएका छन् भने अस्पताल प्रसाशन विरुद्ध मुद्दा समेत दर्ता गराएका छन् ।

चेतनाको मृत्युको खबर उनको ठूलो बुवाले दिएका हुन् । उनले भनेका छन् ,‘चेतना मेरो भाईकी छोरी हुन, उनी एक नायिका पनि हुन् । कसैले उनलाई मोटी भनेका कारण उनी तौल कम गर्न अस्पताल पुगिन् ।

अस्पतालमा आईसीयु थिएन तर, डाक्टरले उनको सर्जरी गरे । सर्जरी पश्चात उनको फोक्सोमा पानी जम्न थाल्यो त्यसपछि त्यहाँबाट अर्को अस्पतालमा पठाइयो । तर अस्पताल पुग्ने वित्तिकै उनको मुत्यु भयो ।

प्रकाशित मिति : ४ जेष्ठ २०७९, बुधबार १८:१९