सूचनाको शक्ति - The Power Of Information

        

१०५ वर्ष पुरानो सुरुङ पुनर्निर्माण सम्पन्न गर्न साउनसम्मको म्याद

‘हाम्रा राजा क्या अक्कलधारी, ल्याए मोटर चुरेलाई भ्वाङ पारी’ यो कुनै वेलाको चर्चित गीतको अंश हो । सुन्दा रोचक र अपत्यारिलो लाग्नसक्छ तर यो कुरा सत्य हो– नेपालमा आजभन्दा १०५ वर्ष अगाडि नै सुरुङमार्ग बनेको थियो र त्यसबाट मोटरहरू आवत–जावत गर्दथे । त्यसैलाई आधार मानेर रचिएको गीत थियो– त्यो ।

हाल बाग्मती प्रदेशको राजधानी हेटौडा र मधेश प्रदेशलाई जोड्न १९७४ सालमा नेपालमा सुरुङ निर्माण गरिएको थियो । दक्षिण एसियाकै पहिलो मानव निर्मित सुरुङमार्गलाई चुरियामाई सुरुङ भन्ने गरिन्छ । त्यो सुरुङमार्ग राजा त्रिभुवन वीरविक्रम शाहदेव तथा राणा प्रधानमन्त्री श्री ३ चन्द्रशमशेरको पालामा नेपाली सेनाका इञ्जिनियर डिल्लीजङ्ग थापाको डिजाइन र प्रयत्नमा नेपाली प्रविधि प्रयोग गरेर खनिएको थियो ।

लामो समय प्रयोग र मर्मतसम्भार नभएकाले हाल जीर्ण भएको सुरुङलाई सम्पदाका रूपमा संरक्षण गर्न बागमती प्रदेशको तत्कालीन सरकारका मुख्यमन्त्री डोरमणि पौडेलले अग्रसरता लिए । उनले यसको संरक्षणका लागि चासो देखाएका थिए । फलतः २०७८ साल साउनबाट पुनः निर्माण गर्न थालिएको सुरुङ मर्मतको काम अहिले अन्तिम चरणमा रहेको छ । पुनर्निर्माणका लागि माउण्टेन इन्फ्रा कम्पनीले काम गरिरहेको छ ।

प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयको यातायात पूर्वाधार निर्देशनालयले ३ करोड ३६ लाख १३ हजार रुपैयाँको लागतमा पुनर्निर्माण सम्झौता गरेको हो । करिब ५०० मिटर रहेको यो सुरुङको एकापट्टिको भाग पुरिएपछि मार्गको करिब २८० मिटर मात्र बाँकी रहेको छ । सुरुङ पुनर्निर्माणको काम २०७९ वैशाख १९ गते सक्ने गरी सम्झौता गरिएको थियो ।

सहज रूपले आवत जावत गर्न मिल्ने गरी पुनर्निर्माण गरिएपछि सुरुङमार्गको दूरी घटेर २१५ मिटर मात्र बाँकी रहने जानकारी यातायात पूर्वाधार निर्देशनालयका प्रमुख डा.सहदेव भण्डारीले दिएका छन् । तोकिएको समयमा निर्माण सम्पन्न नभएपछि यसको समय सीमा आगामी साउन महिनासम्म थपिएको छ । सुरुङ पुनर्निर्माणको काम हालसम्म ६० प्रतिशत सकिएको डा.भण्डारीले जानकारी दिए ।

सुरुङको चौडाइ २ मिटर ७० सेन्टिमिटर तथा उचाइ ३ मिटर ३० सेन्टिमिटर रहेको भण्डारीले बताए । उनले सकेसम्म पुरानै स्वरूपमा बनाउन लागिएको पनि बताए । तत्कालीन समयमा चुरेको पहाड छेडेर तराईलाई काठमाडौंसम्म जोड्नु महत्वपूर्ण थियो । १९७४ मा बाराको अमलेखगञ्जलाई मकवानपुरको पुरानो सदरमुकाम ऐतिहासिक स्थल भीमफेदीसँग जोड्ने सडक बनाउने बेलामा तराईबाट काठमाडौं सवारी आवागमनका निम्ति निर्मित उक्त सुरुङले त्यो समयमा जनजीवन सामान्य बनाएको अड्कल काट्न सकिन्छ ।

पहाड खोपेर बनाइएको सुरुङमा चुनासुर्की प्रयोग गरिएको छ । सुरुङमार्गको दुवैतर्फका भित्तामा हार मिलाएर ढुंगाहरू राखिएका छन्, खोपाहरू कुँदिएका छन् । सुरुङमार्ग पुनर्निर्माणपछि सर्वसाधारणलाई अवलोकनका लागि समेत खुला गरिने छ । उक्त मार्गबाट २०२० सालसम्म सवारी आउजाउ हुने गरेको पूर्व मुख्यमन्त्री पौडेलको भनाइ छ ।

प्रजातन्त्र पुनः स्थापनापछि त्रिभुवन राजपथ बन्यो, ठूला ठूला सवारी साधनहरू भित्रिए, त्यो सुरुङ सानो भयो । त्यसक्रममा सुरुङमार्गको छेउमा विष्फोट गराएर भत्काइयो र त्यहीं सडक बनाइयो, सुरुङको आधा भाग नष्ट भयो । सडकछेउमा देखिएका सुरुङको मुख थुनियो तर बारा जिल्ला तर्फबाट मन्दिरनजिक सुरुङको मुख्य भाग भने सग्लै रहेको थियो । सुरुङको केही भाग नष्ट भएपछि सडकपारिको अर्को भागलाई भने कंक्रिटले बन्द गरिएको थियो ।

नेपालका हरेक भूभागलाई राम्रोसँग बुझेका स्वीटजरल्याण्डका नागरिक टोनी हेगनले सन् २००४ मा लेखेको पुस्तक ‘द हिमालयन किङ्डम अफ नेपाल’ मा सुरुङमार्ग बारे स्पष्ट पार्दै नेपालभन्दा ठूलो भारतले सुरुङ प्रविधि भित्र्याउन नसकेको बेला नेपाल सफल भएकोमा खुशी व्यक्त गरिएको छ । त्यो समयमा बाराको अमलेखगञ्जसम्म रेल चल्ने गरेको पूर्व मुख्यमन्त्री डोरमणि पौडेल स्मरण गर्छन् ।

रेल पछिसम्मै चले पनि सुरुङमार्ग भने बन्द भयो । अग्रजहरूका अनुसार उक्त मार्ग निर्माणताका अमलेखगञ्जबाट मकवानपुरको भीमफेदीसम्म मोटर बाटो पुगेको थियो । भीमफेदीबाट काठमाडौं जाने मोटरबाटो नभए पनि साना गाडी राजा तथा राणाहरूले बोकाएरै भए पनि काठमाडौं पुर्याउने गरेका थिए । अमलेखगञ्ज–भीमफेदी मार्गको बारा र मकवानपुरको सीमाना चुरे खण्डमा भने मोटर उक्लन निक्कै गाह्रो थियो ।

ठाडो उकालो भएका कारण मोटर उक्लन नसक्ने र उक्लिहाले पनि सामान धेरै लैजान नसक्ने, समय र इन्धनको खर्चसमेत बढी हुने भएपछि तत्कालीन राणा सरकारले विकल्पमा त्यहाँ सुरुङ खनेको थियो । पूर्व मुख्यमन्त्री पौडेल हेटौंडाको चुरीयामाई सुरुङ मार्गले इतिहास बचाउने मात्र होइन पर्यटनको पनि प्रवर्द्धन गर्न सक्छ । साथै यो अध्ययन प्रयोजनका लागि पनि त्यत्तिकै उपयोगी रहेको बताउँछन् ।

पुर्खाको कामलाई जीवन्त राख्नु सबैको कर्तव्य भएको भन्दै उनले डिल्लीजङ्ग थापाले गरेको राम्रो कामलाई बचाएर महत्वका साथ पुनर्निर्माण गर्न थालिएको पनि बताए । नेपालकै पहिलो इञ्जिनियर थापाको डिजाइनमा निर्मित यो सुरुङमार्ग नजिकै चर्चित चुरियामाईको मन्दिर छ । सुरुङ खन्न थालेपछि इञ्जिनियर थापालाई सपनामा देवीले ‘म बसेको ठाउँमा बाटो खनिस् त्यसको सट्टामा एउटा मन्दिर बनाएर मलाई स्थापना गर’ भनेका कारण थापाले मन्दिर बनाएको भन्ने किंवदन्ती पनि सुन्न पाइन्छ ।

हेटौंडा उपमहानगरको १५ नम्बर वडामा पर्ने यो स्थानमा उपमहानगरले सुरुङका डिजाइन गर्ने इञ्जिनियर डिल्लीजङ्ग थापाको अर्धकदको शालिकसमेत स्थापना गरिसकेको छ । यसैगरी इतिहास मर्न नदिन टोनी हेगनको सम्झनामा टोनी हेगन पार्क पनि निर्माण गरिएको हेटौंडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महतले बताए ।

 

आइएनएस–स्वतन्त्र समाचार

प्रकाशित मिति : २३ बैशाख २०७९, शुक्रबार ०९:०४