सूचनाको शक्ति - The Power Of Information

        

चुनावी सुरक्षा

निर्वाचनमा तीन घेराको सुरक्षा, दुई लाख ६८ हजार सुरक्षाकर्मी

वैशाख ३० गते हुने स्थानीय तहको चुनावका लागि सबै किमिसका तयारी अन्तिम अन्तिम चरणमा पुगेका छन् । त्यसमध्येको सबैभन्दा महत्वपूर्ण मानिएको सुरक्षाको प्रबन्धका लागि गृहमन्त्रालयको अग्रसरतामा चारवटै सुरक्षा निकाय परिचालित भइसकेका छन् ।

सुरक्षा व्यवस्थापनका लागि निर्वाचन आयोगले निर्वाचन सुरक्षा (व्यवस्थापन) निर्देशिका २०७८ लागू गरेको छ । यसपटकको स्थानीय तहको चुनावमा म्याद प्रहरीसहित दुई लाख ६८ हजार सुरक्षाकर्मी परिचालित हुने गृहमन्त्रालयले जनाएको छ । जसमा सुरक्षा संयन्त्रको नेतृत्व नेपाल प्रहरीले गर्नेछ भने सशस्त्र प्रहरी बल र नेपाली सेनाले सहयोग गर्नेछन् ।

गृहका अनुसार नेपाल प्रहरीबाट ६५ हजार, सशस्त्र प्रहरीबाट ३२ हजार जनशक्ति र नेपाली सेनाका ७१ हजार जनशक्ति निर्वाचनमा खटिने छन् । चुनावी सुरक्षाका लागि देशभर एक लाख म्यादी प्रहरी भर्ती गरेर परिचालन गरिएको छ । राष्ट्रिय अनुसन्धान विभागबाट पनि सुरक्षाकर्मी परिचालित हुनेछन् ।

सबै सुरक्षा निकायको सहभागिता रहने गरी एकीकृत र छुट्टाछुट्टै सुरक्षा योजना बनाइएको नेपाल प्रहरीका प्रवक्ता विष्णुकुमार केसीले जानकारी दिए । मतदान केन्द्रको सुरक्षाका लागि तीन घेरामा सुरक्षाकर्मी रहनेछन् । मतदान सामाग्रीहरु मतपेटिका, मतपत्र, मतदानमा खटिएका कर्मचारीको सुरक्षाका लागि पहिलो घेरामा नेपाल प्रहरी हुनेछ ।

आयोगले तयार पारेको सुरक्षा व्यवस्थापन चार्ट ।

प्रहरीलाई म्यादी प्रहरीले सहयोग गर्नेछन् । म्यादी प्रहरीको जिम्मेवारी मान्छेको अनावश्यक भीड नियन्त्रण गर्ने, मतदाताको लाइन मिलाउने र अन्य सानातिना व्यवस्थापकीय काम हुनेछ । दोस्रो घेरामा सशस्त्र प्रहरी र तेस्रो घेरामा सेना परिचालन गर्ने तयारी छ । सशस्त्र प्रहरीले मोबाइल गस्ती गर्ने, जिल्ला निर्वाचन कार्यालय, मुख्य निर्वाचन अधिकृत, निर्वाचन अधिकृत र उम्मेदवारको सुरक्षामा ध्यान दिनेछ ।

खास सुरक्षाको काम नेपाल प्रहरी र सशस्त्रले गरे पनि व्यवस्थापकीय काममा सेनाको विशेष भूमिका हुनेछ । सैनिक प्रवक्ता नारायण सिलवालका अनुसार सेनाले मतपत्र छपाइस्थलको सुरक्षा, मतपत्र ढुवानी तथा मतपेटिकाको सुरक्षामा ध्यान दिनेछ । चुनाव अवधिभर सशस्त्र र नेपाल प्रहरीले सुरक्षा दिँदै आएको कारागारमा पनि सेनाले सुरक्षा दिनेछ ।

विष्फोटक पदार्थ निस्तेज पार्न सेनाको विशेष टोली नै खटिने सिलवाल बताउँछन् । ७५३ स्थानीय तहमा रहेका १० हजार ७५६ मतदान केन्द्रमध्ये गृहमन्त्रालयले जिल्ला गत रिपोटका आधारमा तयार पारेको विवरणअनुसार २ हजार ९४६ वटालाई संवेदनशील सूचीमा राखिएका छन् ।

चार हजार ४२३ वटा संवेदनशील र ३ हजार ३७८ वटा सामान्य मतदानस्थलको रुपमा वर्गीकरण गरिएको छ । गृह मन्त्रालयले सबैभन्दा बढी चुनावी संवेदनशीलता मधेस प्रदेशमा रहेको औंल्याएको छ । मधेसपछि लुम्बिनी प्रदेश, सुदूरपश्चिम र प्रदेश–१ लाई क्रमशः चुनौतीपूर्ण सुरक्षा स्थिति रहेको प्रदेशमा राखेको छ । त्यसपछि क्रमशः बागमती, कर्णाली र गण्डकी प्रदेशमा अति संवेदनशील मतदान केन्द्रहरु छन् ।

प्रकाशित मिति : २१ बैशाख २०७९, बुधबार ०५:२९