सूचनाको शक्ति - The Power Of Information

        

राजनीतिक दलसँग संवाद : निर्वाचन शान्तिपूर्ण बनाउने प्रतिवद्धता

जिल्लामा क्रियाशील राजनीतिक दलहरुले स्थानीय तहको निर्वाचन शान्तिपूर्ण बनाउने प्रतिबद्धता व्यक्त गरेका छन् ।

बाँकेस्थित राजनीतिक दलका प्रमुख एवं प्रतिनीधीहरुले वैशाख ३० को निर्वाचनलाई शान्तिपूर्ण र निष्पक्ष बनाउन आचार संहिताको कार्यान्वयन गर्ने प्रतिवद्धता गरेका हुन् ।

संवाद समूह बाँकेले बुधबार नेपालगञ्जमा आयोजना गरेको स्थानीय तह निर्वाचन ०७९ निर्वाचन आचार संहिता कार्यान्वयनका सन्दर्भमा राजनीतिक दलहरुसँग गरिएको अन्तरक्रियात्मक संवाद कार्यक्रममा सो प्रतिवद्धता  सार्वजनिक गरिएको हो ।

निर्वाचन स्वच्छ, निष्पक्ष, शान्तिपूर्ण र विश्सनीय बनाउन आचार संहिता कार्यान्वयन गर्नु पर्ने कुरामा दलका प्रमुख एवं प्रतिनीधीहरु एकमत भएका हुन् ।

निर्वाचन अधिकारी, सुरक्षा अधिकारी, अधिकारकर्मी, नागरिक समाजका अगुवाको समेत सहभागिता रहेको कार्यक्रममा राजनीतिकर्मीहरुले आफना गतिविधिलाई शान्तिपूर्ण र मर्यादित बनाउदै निर्वाचन द्वन्द्वरहित बनाउने वचनवद्धता प्रकट गरेका  हुन् ।

मुख्य  निर्वाचन अधिकृतको कार्यालयका मुख्य निर्वाचन अधिकृत  खडानद तिवारीले आचारसंहितालाई पालना गर्नु नै चुनावलाई द्वन्द्वरहित बनाउनु भएकाले दलहरुले सो दायित्व निर्वाह गर्नुपर्नेमा जोड दिनु भयो ।

आचारसंहिता उल्लघन कहीं कतै भएको पाइए उजुरी गर्न आह्वान गर्दै उहाँले प्रमाणका आधारमा कानूनी कारवाही गरिने प्रतिवद्धता पनि व्यक्त गर्नु भयो ।

बाँकेका प्रमुख जिल्ला अधिकारी सुर्य बहादुर खत्रीले शान्ति सुरक्षा व्यवस्थापनलाई विशेष प्राथमिकता राखीएको भन्दै उहाँले दलका नेताहरुले आचार सहिंता पालनाको विषयलाई तल्लो तहमा पनि सर्कुलर गरिदिनु पर्ने सुझाव दिनु भयो ।

नेपाली काग्रेस बाँकेका सभापति नारायण गौडेल, नेकपा एमाले बाँकेका अध्यक्ष किस्मत कुमार कक्षपति,  नेकपा माओबादी केन्द्रका नवीन शर्मा, नेकपा एकिकृत समाजबादी पार्टीका अशोक कोइराला, राष्ट्रिय जनमोर्चाका कृष्णराज पाण्डे, राप्रपाका विक्रमलाल श्रेष्ठले राजनीतिक दलका लागि बनाईएको आचार संहिता कार्यान्वयन गर्न र गराउन आफु र आफ्नो पार्टी प्रतिबद्ध हुने बताउनुभयो ।

कार्यक्रममा नियोगका प्रतिनीधी एवं अधिवक्ता वसन्त गौतम, सूचना अभियन्ता एवं नागरिक समाजका प्रतिनीधी विश्वजित तिवारी लगायतले पनि आचार संहिता पालनामा सामुहिक एकता र सहकार्यमा जोड दिनु भएको थियो ।

समुहका सहजकर्ता शुक्रऋषि चौलागाईद्धारा सहजीकरण गरिएको कार्यक्रमको उद्येश्य र महत्वमाथि समूहका सदस्य एवं अधिवक्ता प्रहलाद वहादुर कार्कीले प्रकाश पार्नु भएको थियो ।

स्थानीय तह निर्वाचनलाई मर्यादीत, भयरहीत र शान्तिपूर्ण बनाउन संवाद समूहले सरोकारवालासँग विभिन्न चरणमा आवश्यक संवाद गर्दै आएको छ ।

 बाँकेमा १८ वर्ष पूरा भएका कूल तीन लाख २९ हजार ४७३ ले मतदान प्रक्रियामा भाग लिनेछन् । जिल्लामा मतदानस्थल १३६ र मतदान केन्द्र ३७९ छन् ।

सुरक्षाका दृष्टिकोणले १२४अतिसंवेदनशिल,र १२ संवदेनशिल मतदानस्थलन छन् ।  जिल्लामा राष्ट्रिय मान्यता प्राप्त छ दलबाहेक साना २३ दल निर्वाचन कार्यालय बाँकेमा दर्ता भएका छन् ।

प्रकाशित मिति : १५ बैशाख २०७९, बिहीबार १८:४८