सूचनाको शक्ति - The Power Of Information

        

स्थानीय तह निर्वाचन २०७९

गठबन्धनको लफडाले गिजलिएको भरतपुर महानगर

स्थानीय तहको निर्वाचन नजिकिँदै जाँदा भरतपुर महानगरपालिकामा सत्तारुढ दलको चुनावी गठबन्धनको विषय पेचिलो बन्दै गएको छ । गठबन्धनका केन्द्रीय नेतृत्वले सबै स्थानीय तहमा गठबन्धन गर्ने र महानगरको प्रमुख उपप्रमुख केन्द्रले टुङ्ग्याउने निर्णय गरेकै दिन मंगलबार महानगरभित्रका सबै वडाका नेपाली काँग्रेस वडा सभापतिले भरतपुर महानगरमा गठबन्धन नमान्ने लिखित निर्णय गरेपछि महानगरको चुनावी गठबन्धन अझ पेचिलो बन्दै गएको हो ।

चितवनको भरतपुर महानगरमा नेकपा माओवादी जसरी पनि गठबन्धन चाहन्छ । उसले चुनावी गठबन्धन गरेर प्रचण्डपुत्री रेणु दाहाललाई नै मेयर उठाउने तयारी गरेको छ । तर, नेपाली काँग्रेसले भने कुनै पनि हालतमा भरतपुर महानगरपालिका यसपटक नेकपा माओवादीलाई दिन चाहँदैन । त्यसैले यसअघि नै चितवनबाट नेपाली काँग्रेसका केन्द्रीय सदस्य सहितका जिल्ला नेतृत्वले सार्वजनिक रुपमा अभिव्यक्ति दिने सहित आफ्नो दललाई महानगर प्रमुख जसरी पनि चाहिने भन्दै दबाब दिइरहेको छ ।

नेता रामचन्द्र पौडेललाई ज्ञापनपत्र बुझाउँदै नेकाका जिल्ला नेताहरू (तस्वीर सौजन्य : नेका जिल्ला पूर्व सभापति जितनारायण श्रेष्ठको फेसबुक पेज)

त्यसकै दबाब स्वरुप चैत २४ गते चितवनबाट काँग्रेस केन्द्रीय सदस्य रहेका टेकप्रसाद गुरुङको नेतृत्वमा गएको जिल्ला सभापति सहितको समूहले नेपाली काँग्रेसको चुनावी गठबन्धन कार्यदलका संयोजक तथा वरिष्ठ नेता रामचन्द्र पौडेललाई ज्ञापन पत्र बुझाएर भरतपुर महानगरको प्रमुख काँग्रेसले नछोड्ने जानकारी गराइसकेका थिए । चितवन काँग्रेसका पुराना नेता कृष्णलाल सापकोटाले त भरतपुरमा चुनावी गठबन्धन गरिए आफूले नै महानगरको मेयरमा उम्मेदवारी दिने सार्वजनिक रुपमा बताएका छन् ।

तर, काँग्रेस केन्द्रीय समितिकै सहमतिमा भरतपुर महानगरपालिका नेकपा माओवादी केन्द्रलाई दिने निर्णय भएको खबर आएपछि भरतपुर महानगरको २९ वडाकै काँग्रेस वडा सभापतिको संयुक्त बैठक बसी उनीहरूले भरतपुर महानगरमा गठबन्धन नमान्ने निर्णय गरेका हुन् । महानगरमा गठबन्धन गरे महानगरका वडा प्रमुख उपप्रमुख सहित सबै वडामा स्वतन्त्र उम्मेदवार उठाउने उनीहरूले संयुक्त निर्णय गरेका छन् ।

काँग्रेसका २५ जना आकांक्षी, माओवादी मौन

भरतपुर महानगरमा गठबन्धन नमान्ने निर्णय गरेको नेपाली काँग्रेसबाट भरतपुर महानगरको मेयर पदको लागि २५ जना आकांक्षी रहेका छन् । काँग्रेसको भरतपुर महानगर समितिले चैत २८ गते संकलन गरेको मेयर आकांक्षीको लिष्टमा हालको महानगर उपप्रमुख पार्वती शाह ठकुरीदेखि जिल्ला, नगर तहका नेता, महिला अधिकारकर्मी लगायतले मेयरको आकांक्षीमा नाम दर्ता गराएका छन् । उपप्रमुखमाचाहिँ २४ जना आकांक्षी देखिएका छन् ।

आफै मेयरका आकांक्षी रहेका नेपाली काँग्रेस भरतपुर महानगर समिति सभापति चित्रसेन अधिकारीले महानगरको पदमा आकाक्षा गर्ने धेरै हुनु स्वभाविक रहेको बताए । नेकपा माओवादी केन्द्र भने गठबन्धनको निर्णय सार्वजनिक नहुन्जेलसम्म मौन बसेको छ । सावर्जनिक रुपमा मेयर पदका आकांक्षी रेणु दाहालबाहेक अरु नगरमा प्रमुख उपप्रमुखको टुंगो लगाएको छैन । माओवादी केन्द्रका जिल्ला अध्यक्ष रामचन्द्र अधिकारीले गठबन्धनको निर्णयपछि पार्टीले उम्मेदवारहरूको नाम सार्वजनिक गर्ने जानकारी दिए ।

विजयको लोकप्रियता

देवी ज्ञवाली र कृष्णभक्त पोखरेलको बीचमा विजय सुवेदी

सत्तारुढ दलहरु चुनावी गठबन्धनको खिचडीमै अल्झिरहेका बेला नेकपा एमाले चितवनले भने विपक्षीहरूले समेत मानेका नेता विजय सुवेदीलाई भरतपुरको मेयर पदको उम्मेदवार घोषणा गरेर चुनावी अभियान तीब्र बनाएको छ । दुई पटकसम्म नेकपा एमाले चितवनको नेतृत्व गरिसकेका र विपक्षीहरूसँग समेत नरम स्वभावका भनेर चिनिएका नेता विजय सुवेदीलाई नेकपा एमालेले महानगरका मेयरको उम्मेदवारमा अघि सारेको हो ।

जिल्लाका सबै खालका विकास र सामाजिक मुद्दामा नेतृत्व गर्ने सरल स्वभावका नेता विजय सुवेदी मेयरको उम्मेदवारमा गठबन्धनकै अघि गह्रौँ नेता भएको एमालेइतरका मानिस पनि स्वीकार गर्छन् । नेकपा एमालेबाट प्रदेशसभा सदस्य सुवेदी यसअघि बागमती प्रदेशको सामाजिक विकास मन्त्रीसमेत भइसकेका छन् । विजय सुवेदीले विगतमा भरतपुर अस्पतालको विकासमा गुरुयोजना बनाउने, महानगरको विकासका मुद्दाहरूमा सँगै नेतृत्व गर्ने लगायतका जिल्लाका राजनीतिक विषय बाहेकका मुद्दामा पनि उत्तिकै सक्रिय भूमिका खेलेका छन् ।

नेकपा एमाले चितवनका प्रचार विभाग प्रमुख रवि किरण पौडेल भरतपुर महानगरका उम्मेदवार सुवेदीको विषयमा भन्छन्, ‘उहाँ स्वच्छ छवि भएको, विकासको स्पष्ट भिजन भएको नेता हुनुहुन्छ ।’ यसअघिका मेयरका उम्मेदवार देवी ज्ञवालीको प्रस्तावक र प्रतिनिधिसभा सांसद कृष्णभक्त पोखरेलको समर्थनमा मेयरको उम्मेदवार बनेका सुवेदी गठबन्धनले जस्तो उम्मेदवार उठाएपनि बलियो उम्मेदवार रहेका दाबी गर्दै प्रचार प्रमुख पौडेल भन्छन्, ‘तीनवटा नगरपालिका गाभेर भरतपुर महानगर बनाउने भिजन उहाँकै हो ।’

आइएनएस–स्वतन्त्र समाचार

प्रकाशित मिति : ३० चैत्र २०७८, बुधबार १५:३०