सूचनाको शक्ति - The Power Of Information

        

स्थानीय तहको निर्वाचन:

चैत्र ३० गतेभित्र हातहतियार बुझाउन बाँके प्रशासनको निर्देशन

नबुझाएमा खानतलासी गरेर कारबाही गरिने

आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनलाई मध्यनजर गर्दै बाँके प्रशासनले हातहतियार बुझाउन निर्देशन दिएको छ ।

स्थानीय तहको निर्वाचन भयरहित र विश्वसनीय बनाउन भन्दै जिल्ला प्रशासन कार्यालय बाँकेले वैध तथा अवैध हातहतियार निर्देशन दिइएको बाँकेका प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्रीले बताए ।

गृह मन्त्रालयको निर्देशन बमोजिम हातहतियार बुझाउन सूचना जारी गरिसकेको बताउँदै प्रजिअ खत्रीले जिल्लामा इजाजत प्राप्त र बिना इजाजतका हातहतियार नजिकैको प्रहरी ईकाइहरुमा चैत्र मसान्तभित्र स्वतःस्फूर्त रूपमा बुझाउन निर्देशन दिएको बताए ।

प्रमुख जिल्ला अधिकारी खत्रीका अनुसार इजाजत पाएर र बिना इजाजतका अवैध रूपमा राखिएका हातहतियार नजिकको प्रहरी इकाइमा बुझाउन सकिने छ ।

निर्धारित समयभित्र नबुझाई अटेर गरेको पाइएमा त्यस्ता व्यक्तिको हातहतियार खोजतलास गरी कानूनबमोजिम कारबाही गरिने बाँके प्रशासनले जनाएको छ ।

‘इजाजत प्राप्त हातहतियार निर्वाचनपछि इजाजत प्राप्त ब्यक्तिलाई फिर्ता गरिने छ । बिना इजाजत तोकिएको समयमा हातहतियार नबुझाएमा खानतलासी गरेर कारबाही गरिने प्रशासनले जनाएको छ ।

निर्वाचन विश्वसनीय, सुरक्षित र भयरहित वातावरण बनाउन वैध र अवैध सबै प्रकारका हतियार सूचना जारी गर्दै बुझाउन लगाइएको प्रजिअ खत्रीले बताए ।

प्रकाशित मिति : १८ चैत्र २०७८, शुक्रबार ०७:४८