सूचनाको शक्ति - The Power Of Information

        

एमाले केन्द्रीय कमिटी बैठक

एमालेले आज चुनावी घोषणापत्रका एजेण्डामाथि छलफल गर्ने

उम्मेदवार चयनको मापदण्डबारे पनि छलफल

नेकपा एमालेको आज स्थानीय चुनावको घोषणापत्रमा समावेश गरिने विषयहरूमाथि छलफल गर्ने भएको छ ।

काठमाडौँमा जारी केन्द्रीय कमिटी बैठकमा निर्वाचनको घोषणापत्रकेन्द्रित छलफल हुने भएको हो ।

घोषणापत्रमा पार्टीले समावेश गर्ने एजेण्डाको विषयमा छलफल हुने कार्यसूची रहेको केन्द्रीय कमिटी सदस्य अइन्द्रसुन्दर नेम्बाङले जानकारी दिए । निर्वाचन रणनीतिसँगै उम्मेदवार चयनको मापदण्डबारे पनि छलफल हुने उनले बताए ।

त्यस्तै, अध्यक्ष केपीशर्मा ओलीको राजनीतिक प्रतिवेदनमाथि पनि केही समय छलफल हुने भएको छ । बैठकमा रिपोर्टिङ भने बुधबार नै सकिएको छ ।

एमालेले ९ वैशाखमा निर्वाचन घोषणापत्र सार्वजनिक गर्ने जनाएको छ । घोषणापत्र भने वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरले संयोजक रहेको नीति अनुसन्धान प्रतिष्ठान र स्थानीय तह परिचालन विभागले बनाउने छ ।

प्रकाशित मिति : १० चैत्र २०७८, बिहीबार ०९:४२