सूचनाको शक्ति - The Power Of Information

        

एक बालक, जसले आमाको शवसँग बिताए तीन दिन

भारतको आन्ध्र प्रदेशको चित्तुर जिल्लामा १० वर्षका एक बालकले आफ्नो आमाको शवसँग तीन दिन बिताएका छन् । श्याम प्रसाद नामका उक्त बालकले आफ्नो आमा बितिसकेको तीन दिनसम्म थाहा पाएनन् । बालकले तीन दिनसम्म आफैले खाना बनाएर खाए । विद्यालय जान आफै तयार भए ।

तीन दिनपछि श्यामले आफ्ना मामा लक्ष्मी प्रसाद रेड्डीलाई आफ्नो आमाको शरीरबाट दुर्गन्ध आइरहेको बताए । त्यसपछि मामा श्यामको घर आए अनि प्रहरीकहाँ पुगे । लक्ष्मी प्रसाद रेड्डीले बीबीसीलाई बताएअनुसार राज्य लक्ष्मी (मृतक)ले उनलाई मार्च ७ को राति फोन गरेकी थिइन् ।

राज्य लक्ष्मीले भाइ लक्ष्मीलाई आफ्नो १० वर्षको मेहनत सफल भएको र १० मार्चमा पीएचडी अवार्ड प्राप्त हुन लागेको बताएकी थिइन् । लक्ष्मीका अनुसार राज्य लक्ष्मी आफ्नो छोरालाई ‘सुतेको समयमा नबोलाउनु’ भन्ने गर्थिन् । त्यसकारण पनि छोरा श्याम प्रसादले आफ्नी आमालाई ३ दिनसम्म बोलाएनन् ।

लक्ष्मी प्रसाद रेड्डी भन्छन्, ‘श्याम आफ्नो आमासँग ३ दिनसम्म त्यही कोठामा सुतिरहे । राज्य लक्ष्मी दिनरात असाध्यै मेहनत गर्थिन् । जब उनलाई थकाई लाग्थ्यो, उनी सुत्थिन् । राज्य लक्ष्मीले आफ्नो छोरालाई सुतेको समयमा दुःख नदिनु, केही खानु अनि विद्यालय जानु’ भन्ने गर्थिन् । त्यही भएर श्यामलाई उनको आमा सुतिरहेकी छन् जस्तो लाग्यो र उनले उठाउने कोसिस गरेनन् । ऊ दिनहुँ स्कुल जान आफै तयार भए, यसरी ३ दिन बित्यो ।’

प्रहरीका अनुसार राज्य लक्ष्मीको शरीरमा कुनै पनि किसिमको चोटपटक छैन । यो मुद्दा दर्ता भएसँगै प्रहरी अनुसन्धानमा जुटेको छ । आन्ध्र प्रदेशका डीएसपीका अनुसार राज्य लक्ष्मीका भाइले एमआर पल्ली थानामा ११ मार्चमा यो घटनाको बारेमा बताएका थिए ।

‘हामीले राज्यलक्ष्मीको शरीरलाई पोस्टमार्टमको लागि पठाइसकेका छौँ । उनका छोरा श्याम प्रसादलाई अहिलेसम्म आमाको मृत्युको बारेमा बताइएको छैन । अहिलेसम्म उनको हत्या भएको हो भन्नेतर्फ कुनै पनि सबुत प्रमाण भेटिएको छैन,’ उनले भने, ‘राज्य लक्ष्मीका भाइका अनुसार राज्य लक्ष्मीलाई केही स्वास्थ्यसम्बन्धी समस्या थियो । उनको पीएचडीको कामको समयमा हाइपरटेन्सनको समस्या भएको हुन सक्छ । अहिलेसम्म यो हत्या भएको जस्तो लागेको छैन, पोस्टमार्टम रिपोर्टको आधारमा अगाडिको काम हुनेछ ।’

स्थानीय मानिसका अनुसार राज्य लक्ष्मी मुस्किलले आफ्ना छिमेकीहरुसँग कुरा गर्थिन् । यसैकारण राज्य लक्ष्मीको निधनको बारेमा छिमेकीले चाल पाएनन् । एक स्थानीय भन्छन्, ‘राज्य लक्ष्मी हामीसँग खासै घुलमिल भइनन्, त्यसैले हामीलाई यसबारेमा धेरै थाहा भएन । श्यामले आमाको स्वास्थ्य स्थिति खराब भएको र वान्ता गरेको बताएका थिए । श्यामले आफ्नो आमालाई दुःख नदिएको बताए । आफ्नो लागि खाना बनायो र स्कुल गयो ।’

राज्य लक्ष्मी तिरुपतीमा बस्थिन् । उनको सन् २००९ मा श्रीधरसँग विवाह भएको थियो । राज्य लक्ष्मी १० वर्षको छोरासँग तिरुपतीमा बस्थिन्, उनका श्रीमान् कामको सिलसिलामा विजयवाडामा बस्छन् । एक वर्ष अगाडि यी दुईले सम्बन्ध बिच्छेदको लागि निवेदन दिएका थिए । लक्ष्मी प्रसाद रेड्डीका अनुसार उनीहरुबीच केही समस्या भइरहेको थियो । समस्या त्यति ठूलो थिएन, सायद राज्य लक्ष्मीको निधन स्वास्थ्यसम्बन्धी कारणले भएको हो ।

प्रकाशित मिति : ५ चैत्र २०७८, शनिबार ०९:४२