सूचनाको शक्ति - The Power Of Information

        

किन ‘सुटुक्क’ बझाङ पुग्यो भारतीय सवार हेलिकप्टर ?

कञ्चनपुर । बझाङको थलारा गाउँपालिका–९ छालागडामा भारतीय नागरिक सवार हेलिकप्टर अवतरण भएको छ । कैलाश हेलिकप्टर सर्भिसको ९ एन एजेजे नम्बरको हेलिकप्टर बिहीबार थलारा गाउँपालिका–९ स्थित सेती नदी किनारमा अवतरण भएको हो ।

स्थानीय जनप्रतिनिधि, प्रहरी तथा प्रशासनसँग समन्वय नगरेर हेलिकप्टरमा आएका भारतीय मूलका मानिसले सेती नदी अवलोकन गरेर फर्केका छन् । ‘हामी कसैलाई हेलिकप्टर आउने जानकारी नै थिएन,’ थलारा गाउँपालिका वडा नम्बर ९ का वडाध्यक्ष मोहनराज जोशीले भने ।

उनका अनुसार हेलिकप्टर अवतरण भएपछि स्थानीयले सोध्दा नदीको बहाव र कटान गरेको हेर्न आएको भनेका थिए ।  त्यसपछि आफूहरुले प्रहरीलाई खबर गरेको र प्रहरी पुग्नुअघि नै उनीहरु उडेको उनले बताए । हेलिकप्टरमा चालकसहित पाँच जना भारतीय मूलका नागरिक रहेको उनले बताए ।

‘हिन्दी बोलिरहेका थिए । साथमा नक्सा पनि बोकेका थिए,’ वडाध्यक्ष जोशीले भने, ‘उनीहरु करिब आधा घण्टा बसेपछि गए ।’ हेलिकप्टरमा को को थिए र किन आए भन्नेबारे जिल्ला प्रशासन कार्यालय बझाङ पनि अनभिज्ञ छ ।

हेलिकोप्टरको विषयमा सोधीखोजी भइरहेको प्रमुख जिल्ला अधिकारी (सीडीओ) बाबुराम अर्याल बताउँछन् । ‘हेलिकप्टरमा को, किन आए भनेर खुलेको छैन । हामीलाई कुनै पूर्व जानकारी पनि थिएन,’ उनले भने, ‘यस बारेमा हामी बुझ्दैछौँ ।’

प्रकाशित मिति : २६ फाल्गुन २०७८, बिहीबार १६:२८