सूचनाको शक्ति - The Power Of Information

        

सुरक्षा

प्रहरीका सबै ब्युरो सीआइबी मातहत

काठमाडौं । नेपाल प्रहरीका सबै ब्युरोहरु केन्द्रीय अनुसन्धान ब्युरो (सीआइबी) अन्तर्गत रहने भएका छन् । लागुऔषध नियन्त्रण ब्युरो, मानव बेचबिखन ब्युरो र साइबर ब्युरोलाई सीआइबी अन्तरगत राख्ने तयारी भएको हो । हाल यी तीन वटै ब्युरो प्रहरी प्रधान कार्यालयको अपराध अनुसन्धान विभागअन्तर्गत छन् ।

यी ब्युरोले सिधै सोही विभागमा रिपोर्टिङ गर्दै आएका छन् । संगठन व्यवस्थापन तथा सर्वेक्षण (ओएन्डएम)मा सबै ब्युरोलाई सीआइबी अन्तर्गत राख्न प्रस्ताव गरिएको प्रहरी प्रवक्ता एसएसपी विष्णुकुमार केसीले बताए । ओएन्डएममा तीन जना एआइजी थप गर्न प्रस्ताव गरिएको थियो ।

तीमध्ये एक जना सीआइबीमा राखिने भएपछि सबै ब्युरोलाई त्यही अन्तर्गत राख्न लागिएको हो । ‘अहिले सीआइबीमा डीआइजी मात्रै भएकाले अपराध अनुसन्धान विभागका एआइजी अन्तरगत थिए । सीआइबीमै एआइजी हुने भएपछि सबै ब्युरोलाई यसकै मातहतमा राख्न लागिएको हो,’ प्रवक्ता केसीले भने, ‘कार्यान्वयनमा जान मात्रै बाँकी छ ।’

गत बिहीबार बसेको मन्त्रिपरिषद्ले तीन जना एआइजीको दरबन्दी थप गर्ने निर्णय गरिसकेको मन्त्रीहरुले नै बताए पनि गृह मन्त्रालयले भने त्यसबारेको पत्र प्राप्त नभएको जनाएको छ । सरकारले तीन एआईजी थपेसँगै डीआइजीको नेतृत्वमा रहेको साइबर ब्युरो, एसएसपीको नेतृत्वमा रहेको मानव बेचबिखन अनुसन्धान ब्युरो र एसएसपीकै नेतृत्वमा रहेको लागुऔषध नियन्त्रण ब्युरो सीआइबी मातहत रहनेछन् ।

यस्तै प्रहरी समायोजनपछि सात वटै प्रदेश मातहत रहने नेपाल प्रहरीका अनुसन्धान युनिटहरु पनि सीआइबी अन्तर्गत नै रहने भएका छन् । समायोजन भएपछि हरेक प्रदेशमा नेपाल प्रहरीका पनि कार्यालय रहने छन् । र, त्यहाँ अनुसन्धान युनिटहरु पनि रहने प्रवक्ता केसीले बताए । हरेक प्रदेशमा साइबर ब्युरो, मानव बेचबिखन अनुसन्धान ब्युरो र लागुऔषध नियन्त्रण ब्युरो पनि रहनेछन् ।

अहिले सीआइबी डीआइजीकै नेतृत्वमा छ । यस्तै साइबर ब्युरो पनि डीआइजीकै नेतृत्वमा छ भने लागु औषध नियन्त्रण ब्युरोमा पहिले डीआइजी भए पनि केपी ओली नेतृत्वको सरकारले कटौती गरेको थियो । तर यी ब्युरोहरुमा पनि डीआइजी नै राख्ने तयारी सरकारको छ । गृहमन्त्री बालकृष्ण खाणले पनि अपराध नघटेको र दिनदिनै चुनौती बढिरहेकाले यी ब्युरोहरुमा पनि डीआइजी राख्नुपर्ने आवश्यकता रहेको बताउँदै आएका छन् ।

अरु ब्युरोमा डीआइजीले नेतृत्व गर्ने भएपछि सीआइबीमा एआइजी राखेर त्यस अन्तर्गत अरु ब्युरोलाई राख्न लागिएको हो । जटिल र गहन प्रकृतिका अपराधहरुको अनुसन्धान सीआइबीका मुख्य प्राथमिकता हुन् । अन्य युनिटले पार लगाउन नसकेका अपराधको अनुसन्धान सीआइबीले गर्ने गरेको छ । अन्य ब्युरोले भने आ–आफ्ना क्षेत्रका अपराधको मात्रै अनुसन्धान गर्छन् ।

प्रकाशित मिति : १० फाल्गुन २०७८, मंगलवार ११:५७