सूचनाको शक्ति - The Power Of Information

        

पोखरामा ६ वर्षीय बालकको लिङ्ग रबरले बाँधिदिएपछि…

यौनाङ्ग बांधिएका बालक ।

पोखरा । चिसो मौसमको राती सुतेको समयमा ओछ्यानमा पिसाब गरेको भन्दै डोल्पाबाट पढाईदिने भनी लगिएका ६ वर्षीय बालकको लिंगमा रबरले बाँधेर सजाय दिने पोखराको एक जना महिला होस्टल वार्डेन मंगलबार पक्राउ परेकी छन् ।

पक्राउ पर्नेमा पोखरा महानगरपालिका वडानम्बर १५ स्थित न्यू लाइफ होस्टलमा कार्यरत होस्टेल वार्डेन भनिएकी २७ वर्षीया जानुका नेपाली रहेकी छन् । जानुका नेपालीले राति ओछ्यानमा पिसाब गरेको भन्दै सोमबार बिहान बालकको लिंगमा रबरले बाँधिदिएकोले बालकको पिशाब फेर्ने भाग फुलेर रोईकराई गर्न थालेपछि घटना बाहिरिएको छ ।

ती अबोध बालक होस्टेलबाट नजिकैको सिद्ध स्कुलमा नर्सरीमा अध्ययनरत रहेको र स्कुलमा पुगेपछि पिशाब फेर्न नपाएर चिच्याएको र पिशाब फेर्न नपाएर पेटसमेत फुलिसकेको अवस्थामा स्कुलमा जानकारी भएपछि घटना जिल्ला प्रहरी कार्यालय कास्कीसम्म पुगेको बताइएको छ ।

होस्टेल वार्डेन नेपाली ।

लामो समयसम्म यौनांग बाँधिएका कारण असह्य पीडा भएपछि ती बालक कक्षा कोठामा चर्को स्वरमा रोएको र त्यसैबाट उनको यौनांग बाँधिएको खुल्न आएको थियो । स्कुलले थाहा पाउँदा बालकको पेट पनि फुलिसकेको र बालकको स्वास्थ्य जाँचका लागि अस्पताल पठाइएको स्कुल स्रोतले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी निरीक्षक दीपक केसीका अनुसार ती बालक डोल्पाबाट पढ्न पोखरा आएका हुन् । ‘उनको बुवा पहिले नै बित्नुभएको रहेछ । आमा उतै गाउँमा हुनुहुँदोरहेछ । बालकललाई होस्टलमा राखेर पढाईदिन्छौ भनेर अभियुक्तहरु मध्यकाले ल्याएका रहेछन् ।’

पक्राउ परेकी नेपालीविरुद्ध बालबालिकाविरुद्धको कसुर मुद्दामा जिल्ला अदालत कास्कीबाट पाँच दिनको म्याद थप गरेर अनुसन्धान प्रक्रिया अघि बढाइएको कास्की प्रहरीलेले जानकारी दिएको छ । हिमालयन गुडलाइफ, काठमाडौंका नाममा पोखरामा अबैधरुपमा सञ्चालित उक्त होस्टलमा हाल ९ जनाले आश्रय लिइरहेका छन् ।

प्रकाशित मिति : ७ पुष २०७८, बुधबार ०९:१६