सूचनाको शक्ति - The Power Of Information

        

नरैनापुरमा बन्यो नेपालमै पहिलो दलित निगरानी केन्द्रको भवन

बाँके । बाँकेको नरैनापुरमा दलित निगरानी केन्द्रको भवन उद्घाटन गरिएको छ । नवनिर्मित भवनको गाउँपालिकाका अध्यक्ष इश्तियाक अहमद शाह उद्घाटन गरेका छन् । दलित समुदायको हक अधिकार स्थापित गर्दै उनीहरुको उत्थान र विकासका लागि गाउँपालिकाको सहयोगमा भवन निर्माण गरिएको छ ।

दलितका सवालमा छलफल गर्ने थलोका रुपमा रहने भवन १८ लाख ४२ हजार ६४७ रुपैयाँको लागतमा निर्माण भएको हो । नरैनापुरमा क्रियाशील दलित संघर्ष समिति र तराई दलित विकास मञ्चको अग्रसरतामा भवन बनेको हो । नरैनापुरमा बनेको दलित निगरानी केन्द्र भवन ७५३ पालिकामै पहिलो भएको दलित अधिकारकर्मीहरुको दाबी छ ।

भवन उद्घाटन कार्यक्रमका प्रमुख अतिथि गाउँपालिका अध्यक्ष शाहले सबै समुदाय मिलेर नरैनापुरलाई विकसित र समृद्ध बनाउनतर्फ लाग्न आह्वान गरे । उनले दलित समुदायको उत्थानका लागि आफू सधैं क्रियाशील रहेको बताउँदै उनले समुदायका सबै जातजाती, बर्ग, लिङ्ग र सम्प्रदायको लागि सबैले हातेमालो गर्नुपर्ने बताए ।

अध्यक्ष शाहले दलित निगरानी केन्द्रलाई मजबुत बनाउन गाउँपालिकाको कृषि शाखामार्फत् एम्बुलेन्स प्रदान गर्ने घोषणा समेत गरे । अध्यक्ष शाहले गरिब विपन्न दलित समुदायका बालबालिकाका लागि विद्यालय पोशाक उपलब्ध गराउने बताए । उनले शिक्षा आर्जनमा आफ्ना बालबालिकालाई केन्द्रित गर्न आग्रह गरे ।

दलित बालबालिकाको शिक्षामा सहज पहुँचका लागि आफूले हरसम्भव प्रयास गर्ने बताए । नरैनापुरका कांग्रेस नेता रामचन्द्र मौर्यले शिक्षाबिना दलित समुदायको उत्थान सम्भव नभएकाले शिक्षामा जोड दिन आग्रह गरे । दलित महासंघका पूर्व केन्द्रिय अध्यक्ष गजाधर सुनारले विभेद अन्त्य गरेर सामाजिक विकासका लागि हातेमालो जरुरी रहेको बताए ।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दलबहादुर बस्नेतले दलित समुदायमा साक्षरता जरुरी रहेको बताउँदै छोराछोरीलाई स्कुल पठाउन अभिभावकहरुलाई आग्रह गरे । उनले गाउँपालिकाले निःशुल्क बस सञ्चालन गरेर बालबालिकालाई पढाईमा केन्द्रित गर्न हरसम्भव प्रयास गरेको बताए ।

कार्यक्रममा नरैनापुर गाउँपालिका वडा नं.३ का अध्यक्ष राजकुमार मौर्य, दिपेन्द्र प्राविका प्रधानाध्यापक दुर्गाप्रसाद श्रीवास्तव, नेपाल ट्रेड युनियन कांग्रेस बाँकेका सचिव तोजिन्द्रबहादुर विक, जयकिसान मावि विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बृजेन्द्रकुमार यादव, दलित एकता सञ्जाल नरैनापुरका अध्यक्ष नरेश चमारले मन्तब्य व्यक्त गरेका थिए ।

दलित संघर्ष समिति नरैनापुरका संयोजक मोलहे आर्य धोवीको अध्यक्षतामा भएको कार्यक्रममा धोबीलाई गाउँपालिकाका अध्यक्ष शाह र प्रमुख प्रशासकीय अधिकृत बस्नेतले निगरानी केन्द्र भवनको चाबी दिएर दलित निगरानी केन्द्रलाई भवन हस्तान्तरण गरेको दलित सेवा संघ नरैनापुरका अध्यक्ष सियाराम धोवीले जानकारी दिए ।

प्रकाशित मिति : ६ पुष २०७८, मंगलवार २०:२८