जुम्ला । हिमाली जिल्ला जुम्लामा यतिबेला बिहानको तापक्रम करिब माइनस ६ डिग्री सेल्सियस पुग्न थालेको छ । चिसो बढ्दै जाने क्रममा यहाँको तापक्रम अझै घट्न गई माइनस १५ डिग्रीसम्म पुग्ने गर्दछ ।
चिसो बढ्दै जाँदा यहाँको जनजीवन कष्टकर बन्दै गएको छ । ग्रामीण भेगसम्म विद्युतको पहुँच नपुग्दा पानी तताएर प्रयोग गर्ने विकल्प पनि यहाँका अधिकांश स्थानीयवासीलाई छैन । दैनिक व्यावहारिक प्रयोगका लागि चिसै पानी प्रयोग गर्दै आएका यहाँका स्थानीयहरूको नुहाउनका लागि एउटै विकल्प हो जुम्लाको तातोपानी ।
जहाँ तातोपानी धारामा नुवाउनका लागि २० देखि ३० रुपैयाँ शुल्क तिर्नुपर्छ । पुस लागेसँगै तातोपानी धारामा नुवाउन आउनेको संख्या बढेको छ । यसधारामा नुहाउन आउने मानिसहरूको व्यस्थापनका लागि तातोपानी पर्यटक व्यवस्थापन समिति बनाइएको छ ।
तातोपानी नुवाउनका लागि दैनिक १५० जनाभन्दा बढी मानिसहरू आउने गरेका समितिले जनाएको छ । यसरी आउने मानिसहरूबाट मासिक ६० हजारसम्म जम्मा हुने गरेको समितिले जनाएको छ ।
उठेको रकमबाट तीनजना कर्मचारीलाई २५ हजार तलबबापत छुट्याइने र बाँकी रकम समितिकै खातामा जम्मा हुने गरेको कर्मचारी छकबहादुर बुढाले बताए । उनले भने, ‘महिनामा ४० देखि ६० हजार शुल्कबाट आम्दानी हुन्छ । तातोपानीमा नुवाउनका लागि कहिलेकाहीँ एकैदिन १५० जनासम्म आउँछन् ।’
तातोपानीमा नुहाउँदा विभिन्न प्रकारका रोग निको हुने विश्वाससमेत कतिपयको पाइन्छ । सिजा गाउँपालिका–१ की ५६ वर्षीया खुमेनी दमाईले आफूँलाई ढाड र खुट्टाको जोर्नी दुख्ने समस्या रहेको र तातोपानी धारामा नुहाउँदा सञ्चो भएको बताइन् ।
महिलाका लागि असुरक्षित
तातोपानीमा नुहाउन र कपडा फेर्नका लागि महिलाहरूका लागि सुरक्षित स्थान नभएको स्थानीयको गुनासो छ । चन्दननाथ नगरपालिका–५ की सुस्मिता कठायतले भनिन्, ‘महिलालाई नुहाउने धरामा पुरुष पनि सँगै हुँदा अप्ठेरो लाग्छ ।’ तातोपानी धारामा नुहाउनका लागि महिला र पुरुषलाई छुट्टाछुट्टै धाराको व्यवस्थापन गाउँपालिकाले गर्नुपर्ने उनको सुझाव छ ।
।