बर्दिया । बर्दिया प्रिमियर लिग अन्तरगत बिहीबार भएको खेलमा बाँके–११ क्रिकेट टिमले स्टार क्रिकेट एकेडेमीमाथि ७२ रनको जित निकालेको छ ।
लगातार तेस्रो जित निकालेको बाँके समूह ‘ए’ को विजेता बन्दै सेमीफाइनलमा प्रवेश गरेको छ भने ३ खेलमा २ जित निकालेको स्टार क्रिकेट एकेडेमी पनि सेमी फाइनलमा प्रवेश गरेको छ ।
गुलरियास्थित क्रिकेट मैदानमा टस जितेर ब्याटिङ रोजेका बाँके–११ ले निर्धारित १५ ओभरमा ७ विकेट गुमाउँदै १४७ रन जोडेका थिए । बाँकेका सुरुवाती ब्याटिङ गरेका प्रनित थापा मगर र रोहन केसीबिच ४१ रनको साझेदारी भएको थियो । त्यसपछि नियमित विकेट गुमाए पनि राहुल शर्मा र बिश्वास श्रेष्ठले सानदार ब्याटिङ गर्दा बाँकेले चुनौतीपूर्ण लक्ष्य प्रस्तुत गरेको थियो ।
बाँकेका प्रनितले १६ बलमा ३५ रन जोडे । प्रनितले ४ चौका र ३ छक्का प्रहार गरे । मिडल अण्डर ब्याट्सम्यान राहुल शर्माले १८ बलमा २ चौका र ४ छक्काको मद्दतमा ४६ रनको आक्रामक पारी खेले । साथै विश्वास श्रेष्ठले १७ बलमा २३ रन जोडे ।
स्टारका लेग स्पिनर सुरज खड्काले ३ ओभरमा २३ रन खर्चिएर ४ विकेट लिए । सुरजले अमर सिंह रौटेला र सिद्धान्त शाहीको विकेट हात पारेका थिए । पुरु, बाबुराम र तुल बहादुर थापाले सम्मान १ -१ विकेट लिए ।
१४८ रनको चुनौतीपूर्ण लक्ष्य लिएर ब्याटिङका लागि मैदानमा उत्रिएको स्टारले निर्धारित १२. ओभरमा सबै विकेट गुमाउँदै ७५ रनमा समेटियो । स्टारले आफ्नो पहिलो ओभरकै पहिलो बलमै अनिल थापालाई शून्य रनमै गुमाएको थियो ।
अर्का सुरुवाती ब्याटर मनिष थापाले १५ बलमा २१ रन जोडे । साथै अमर मिश्रले २६ बलमा २० रन जोडे । अन्य ब्याटरको भने सम्झन लायक प्रदर्शन रहेन ।
स्टारलाई सस्तोमा रोक्न बाँकेका तीब्र गतिका बलर गौतम कनोजियाले २.५ ओभरमा १८ रन खर्चिएर ५ विकेट लिए । साथै राहुल शर्माले ३ ओभरमा १७ रन खर्चिएर २ विकेट लिए । घातक बलिङ गरेका गौतम खेलको म्यान अफ द म्याच गौतम कनोजिया भए ।
प्रतियोगितामा कुल देशभरका ८ टोलीको सहभागिता रहेको छ । ८ टोलीलाई २ समूहमा बिभाजन गरेको छ । समूह ए मा बर्दिया क्रिकेट एकेडेमी, रोयल किंग्स, स्टार क्रिकेट एकेडेमी र बाँके ११ क्रिकेट टिम रहेका छन् ।
साथै समूह बि मा धनगडी क्रिकेट एकेडेमी, हिमालयन क्रिकेट एकेडेमी, नेशनल क्रिकेट एकेडेमी र महेन्द्रनगर क्रिकेट एकेडेमी रहेका छन् ।हरेक टोलीले आफ्नो समूहको टोली संग एक आपसमा खेल्ने छन्।
।