बैतडी । सुदूरपश्चिम प्रदेश सरकारका निवर्तमान उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री माया भट्ट राजनीतिको व्यस्तता हुँदाहुँदै पनि मौरीको मह काढ्न पछि पर्दिनन् । जसले मह काढ्छ उसले हात चाट्छ भनेझैँ मौरीपालनको मीठो आम्दानी पनि उनी लिन्छिन् ।
नेपाल कम्युनिस्ट पार्टी (समाजवादी) का तर्फबाट प्रदेशसभा सदस्य रहेकी निवर्तमान मन्त्री भट्टले बैतडीस्थित दशरथचन्द नगरपालिका–५ मा रहेको आफ्नै घरमा पालेका मौरीबाट वार्षिक तीन लाख रुपैयाँ आम्दानी गर्दै आएकी छन् ।
नेकपा (एमाले) बैतडीको संस्थापक सदस्यमध्येका नेता भट्ट हाल नेकपा समाजवादीको सुदूरपश्चिम सहइन्चार्ज एवं प्रदेश सभा सदस्य हुन् । चार दशकदेखि राजनीतिमा होमिएकी भट्टले राजनीतिसँगै उत्पादनमा जोडिनुपर्छ भन्दै २०५१ सालदेखि मैरीपालनमा लागेको बताइन् ।
प्रदेश सरकारको मन्त्रीसमेत भएकी भट्टले जनताको सेवाका लागि आफू लामो समयदेखि राजनीतिमा लागेको बताइन् । ‘२०४८ सालमा कम्युनिस्ट पार्टीको झन्डा बोकेर हिँड्ने म एक्लो महिला थिएँ । गाउँगाउँमा सङ्गठन विस्तार गर्दा कम्युनिस्ट भनेपछि बास मिल्न कठिन हुन्थ्यो,’ उनले भनिन् ।
उनका अनुसार समाजमा वर्गीय विभेद र लैङ्गिक उत्पीडन कायमै थियो । ‘अहिले पनि यो विभेद हट्न सकेको छैन,’ उनले भनिन्, ‘सचेत मान्छेले समाज रूपान्तरणका लागि राजनीति गर्ने हो । राजनीतिसँगै उत्पादनसँग पनि जोडिनुपर्छ भनेर मैले मौरीपालन सुरु गरेको हुँ ।’
राजनीतिमा होमिँदा थुप्रै हन्डर खेपेको बताउँदै नेता भट्टले २०५१ सालदेखि अहिलेसम्म मौरीपालनबाटै घरव्यवहार चलेको बताइन् । आफू प्रदेश सरकारको मन्त्री भएपछि आफ्नो वडाका ४०० किसानलाई मैरीपालनमा लाग्न सहयोग गरेको उनले बताइन् ।
कृषकहरूको सहकारी गठन गरेर अहिले नेता भट्टको वडाबाट मात्रै ३५ लाखभन्दा बढीको मह बिक्री हुने गरेको छ । माया भट्ट मन्त्री भएपछि दशरथचन्द नगरपालिका–५, का मौरीपालक कृषकहरूले पहिलो पटक २५ लाख रुपैयाँ सहयोग प्राप्त गरेको स्थानीय किसान वासुदेव भट्टले बताए ।
अगुवा किसान वासुदेवले भने, ‘माया भट्ट मन्त्री भएपछि मौरीपालक किसानले राम्रो योजना पाए । अहिले हामी सहकारी गठन गरेर सामूहिक मैरीपालनमा लागेका छौँ । हाम्रो वडाबाट मात्रै वार्षिक ३५ लाख रुपैयाँभन्दा बढीको मह बिक्री हुने गरेको छ ।’ आत्मनिर्भर अर्थतन्त्रका लागि प्रत्येक नेपाली उत्पादनसँग जोडिनुपर्ने उनले बताइन् ।
विकास निर्माणका अन्य कामसँगै सर्वसाधारण किसानलाई उत्पादनसँग जोडेर आत्मनिर्भर बन्न सिकाउनु कम्युनिस्ट नेताको धर्म भएको नेता माया भट्ट बताउँछिन् । कम्युनिस्ट पार्टीका नेता माधवकुमार नेपालदेखि केपी शर्मा ओलीसम्म आफ्नो घरमा बास बस्दा मह खाएको नेता भट्टले स्मरण सुनाइन् ।
।