सूचनाको शक्ति - The Power Of Information

        

राजनीति

प्रदेश १ का मुख्यमन्त्रीले दिए राजीनामा

विराटनगर । प्रदेश १ का मुख्यमन्त्री भीमप्रसाद आचार्यले आजको प्रदेशसभा बैठकमा राजीनामा दिएका छन् । सोमबार बसेको प्रदेशसभाको बैठकमा मुख्यमन्त्री आचार्यले प्रदेशसभासमक्ष सम्बोधन गर्दै राजीनामा घोषणा गरेका हुन् ।

नेकपा एमाले विभाजनभएसँगै मुख्यमन्त्रीका लागि एमालेमै रहेका आचार्य आज प्रदेश १ को प्रदेशसभाबाट विश्वासको मत नपाउने स्थिति देखिएपछि राजिनामा दिएका छन् । उनी राजिनामा पत्र लिएर केहीबेरमा प्रदेश प्रमूखको कार्यालयमा पुग्दैछन् ।

उनले राजीनामा दिएसँगै आजको कार्यसूचीमा मतदान प्रक्रिया अघि बढाउनु नपरेको बताउँदै सभामुख प्रदीपकुमार भण्डारीले कात्तिक १६ गतेसम्मका लागि सभा बैठक स्थगित भएको घोषणा गरे । आचार्यले विश्वासको राजीनामा दिएसँगै अब प्रदेश प्रमुखले नयाँ सरकार गठनका लागि आह्वान गर्नेछन् ।

६७ दिन प्रदेश १ का मुख्यमन्त्री बनेका आचार्यले १० भदौमा सपथ लिएका थिए । तर, उनले सपथ लिनुअघि नै नेकपा एमाले फुटेर नेकपा (एकीकृत समाजवादी) बनिसकेको थियो । प्रदेशसभामा भने २२ भदौमा नेकपा एमाले आधिकारिकरूपमा फुटेको हो । प्रदेश १ मा एकल बहुमतमा रहेको एमाले फुटेपछि मुख्यमन्त्री आचार्य अल्पमतमा परेका थिए ।

प्रदेश १ प्रदेशसभामा ९२ सदस्य छन् । जसमध्ये विगतमा ५१ जना प्रदेशसभा सदस्य एमालेमा थिए । तर, १० सांसदले नेकपा (एस) रोजेपछि एक जना सभामुखसहित एमालेमा ४१ सांसद छन् । संविधानको धारा १६८ अनुसार मुख्यमन्त्री आचार्यले ३० दिनभित्र विश्वासको मत लिनुपर्ने थियो । प्रदेशमा दल फुटेको मिति अर्थात २२ भदौलाई माने पनि त्यसको ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक बाध्यता थियो ।

२२ असोजमा संसद् बोलाए पनि मुख्यमन्त्री आचार्यले विश्वासको मत लिएनन् । मुख्यमन्त्री आचार्यले ५ कात्तिकमा विश्वासको मतका लागि प्रस्ताव संसदमा पेस गरेका थिए । संसद् सचिवालयले ७ कात्तिकमा विश्वासको मत लिने कार्यसूची तय गरेको थियो । तर, कांग्रेसले लिखितरूपमा संसद् रोक्न आग्रह गरेपछि १५ कात्तिक अर्थात आज सोमबारलाई राखिएको थियो ।

मुख्यमन्त्रीको राजिनामासँगै नयाँ मुख्यमन्त्रीको रूपमा नेकपा (एस) संसदीय दलका नेता राजेन्द्र राईलाई अघि सार्ने गठबन्धनले निर्णय गरिसकेको छ । गठबन्धनको निर्णयअनुसार प्रदे्श १ को मुख्यमन्त्ती अब नेकपा एकीकृत समाजवादीका संसदीय दलका नेता राजेन्द्र राई नै बन्ने पक्का भएको छ । सरकार गठनका लागि कम्तीमा ४७ सदस्य आवश्यक पर्दछ। विपक्षी गठबन्धनले आफूहरूसँग ५० सांसदको समर्थन रहेको दाबी गरेको छ ।

प्रकाशित मिति : १५ कार्तिक २०७८, सोमबार १४:४६