सूचनाको शक्ति - The Power Of Information

        

एभरेष्ट बैंकको नाफा ७२ प्रतिशतले वृद्धि

काठमाडौं । एभरेष्ट बैंक लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमास अर्थात् तीन महिनासम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । बैंकले सार्वजनिक गरेको वित्तीय विवरणअनुसार बैंकले चालु आर्थिक वर्षको असोज मसान्तसम्ममा बैंकले ५७ करोड ८८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ ।

यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ७२ दशमलव ९२ प्रतिशत बढी हो । गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले ३३ करोड ४७ रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । असोज मसान्तसम्ममा बैंकको खुद ब्याज आम्दानी छ दशमलव ७० प्रतिशतले बढेको छ । त्यस्तै, बैकको सञ्चालन मुनाफा ७२ दशमलव ९९ प्रतिशतले बढेको छ ।

बैंकको कमिशन आम्दानी भने समीक्षा अवधिमा १० दशमलव ८६ प्रतिशत बढेको छ । त्यसैगरी, समीक्षा अवधिमा बैंकको निक्षेप दुई दशमलव ३२ प्रतिशत बढेको छ । त्यस्तै, कर्जा छ दशमलव १३ प्रतिशत बढेको छ । असोज मसान्तसम्ममा बैंकको वितरण योग्य मुनाफा दुई अर्ब ९४ करोड रुपैयाँ रहेको छ ।

चालु आर्थिक वर्षको तीन महिनामा बैंकको जगेडा कोष एक दशमलव ९८ प्रतिशतले मात्र बढेको छ । नाफासँगै बैंकको प्रतिसेयर आम्दानी पनि बढेको छ । समीक्षा अवधिमा बैंकको प्रतिसेयर आम्दानी १० रुपैयाँ ११ पैसाले बढेर २५ रुपैयाँ ९२ पैसा पुगेको छ । असोज मसान्तसम्ममा, बैंकको मूल्य आम्दानी अनुपात २७ दशमलव ४२ गुणा रहेको छ भने प्रतिसेयर नेटवर्थ २३४ रुपैयाँ ७३ पैसा रहेको छ ।

प्रकाशित मिति : १५ कार्तिक २०७८, सोमबार १०:४७