सूचनाको शक्ति - The Power Of Information

        

चितुवालाई गर्धनमै समातेर नियन्त्रणमा लिएपछि…

नियन्त्रणमा लिएकाे चितुवा र चितुवाले मारेका कुखुरा ।

बागलुङ । बागलुङको बडिगाड गाउँपालिका–९ मालारानीका दिलबहादुर थापाको कुखुरा फर्ममा विहिबार झिस्मिसेमा एक पोथी चितुवा पस्यो । चितुवाले खोरमा भएका १०० बोइलर कुखुरामध्ये कोही खायो, कोहीलाई मार्यो । कुखुरा नष्ट गरेपछि स्थानीयले चितुवालाई समातेर वनमा छाडेका छन् ।

खोरको जाली च्यातेरभित्र छिरेको चितुवा विहान अबेरसम्म पनि बाहिर नगएपछि स्थानीयले सवडिभिजन कार्यालयको प्राविधिक टोलीलाई खबर गरे । प्रहरी, वन कर्मचारी र स्थानीयको जमघट हुँदासम्म पनि चितुवा खोरभित्रै रह्यो । खोर अगाडिको फाँटका बारीमा अग्ला पाक्दै गरेको कोदो छ ।

खोरको ढोका खुल्ला गर्दासमेत चितुवा नभागेपछि स्थानीय, प्रहरी र वन कर्मचारीले टिन ठटाउने, ताल बनाउनेजस्ता गतिविधि गरेपछि चितुवा बाहिर निस्केर बाख्राको खोरतर्फ लागेको थियो । बाख्रा बचाउन स्थानीयले चितुवा धमाउँदै जाँदै गर्दा चितुवा फेरि फर्कियो, स्थानीयको अगुवाईमा बडिगाड गाउँपालिका–८ निवासी राजन पाइजा थिए ।

चितुवा फर्केर मान्छेतिर आएपछि राजन र चितुवाको जम्का भेटभयो । कराते खेलाडी पाइजाले भाग्यवस चितुवाको घाँटी र गर्धन समाते । चितुवाले आक्रमण गर्नुअघि नै पाइजाले त्यसलाई नियन्त्रणमा लिन सफल भएपछि नजिकमा भएका सबैले चितुवालाई समाते । चितुवा नियन्त्रणमा लिनेबेला पाइजाको खुट्टामा सामान्य चोट लागेको छ ।

पछिल्लो खुट्टाको भागले कोतर्न भ्याए पनि अन्य कुनै ठाउँमा चोट नलागेको पाइजाले बताए । ‘भाग्यले ठूलो क्षति हुन पाएन,’ उनले भने, ‘जीवनको अविस्मरणीय क्षण बन्यो ।’ गर्घनमा समात्ने अवसर नपाएको भए ठूलो क्षति हुने पाइजाको भनाई छ ।

‘मैले झ्याप्प समात्ने मेसो नपाएको भए त्यसले मलाई झम्टन्थ्यो,’ उनले भने, ‘समातेर लडाएपछि सबैजना आएर कक्र्रक्कै बनायौँ ।’ नियन्त्रणमा लिए पछि चार खुट्टा बाँधेर तुरतुरेस्थित देवीस्थान सामुदायिक वनमा लगेर छोडेको सव डिभिजन वन कार्यालयका रेन्जर दिपक श्रीसको भनाई छ ।

प्रकाशित मिति : १२ कार्तिक २०७८, शुक्रबार १०:०६