सूचनाको शक्ति - The Power Of Information

        

बझाङमा राष्ट्रिय जनगणनाको तयारी तिव्र

बझाङ । बझाङमा जिल्ला जनगणना कार्यालयले ‘राष्ट्रिय जनगणना २०७८’ को तयारी तीव्र बनाउँदै सुपरीवेक्षकको तालिम सम्पन्न गरेको छ ।

स्थानीय तहमा जनगणना कार्यालय स्थापनको काम सम्पन्न भइसकेको छ भने १२ वटा पालिकामा सुपरीवेक्षक बुधबारदेखि खटिँदैछन् ।

कार्यालयका प्रमुख दिपेन्द्र सिंह धामीका अनुसार यही भदौ ३० देखि असोज १८ गतेसम्म सुपरीवेक्षकले स्थलगतरूपमा सूचीकरण गर्नेछन् ।

यसका लागि जयपृथ्वी नगरपालिकामा १०, बुंगल ११, मष्टा ५, तलकोट ५, साइपाल ३, थलारा ९, सुर्मा ३, केदारस्युँ ७, वित्थडचिर ५, खप्तडछान्ना ६, छविसपाथिभेरा ५, र दुर्गाथली गाउँपालिकामा ५ जना सुपरीवेक्षक खटिने छन् ।

सुपरीवेक्षकले सूचीकरणको समयमा स्थानीय तहका वडामा सामुदायिक प्रश्नावली भर्ने काम भने मुल जनगणनाको समयमा गरिने भएको छ ।

आगामी असोज १० गते जिल्लामा जनगणनका लागि अन्दाजी २ सय ६६ जना गणकको नतिजा सार्वजनिक हुने छ । गणकको नियुत्तिपछि एक सुपरीवेक्षकले चार गणकलाई परिचालन गरी गणना गर्नेछन् ।

गणकका लागि आगामी कात्तिक १३, देखी १७ गते सम्म ५ दिने तालिम दिइने भएकोछ । गणकले कात्तिक २५ देखि मङ्सिर ९ गतेसम्म जनगणना गर्ने उहाँले जानकारी दिनुभयो ।

जिल्लामा प्रमुख जिल्ला अधिकारी र स्थानीय तहमा प्रमुख प्रशासकीय अधिकृतको अध्यक्षतामा रहेको जनगणना समन्वय समिति गठन गरी काम अघि बढाइएको हो ।

गणकले गणना गरी ल्याएको तथ्याङ्कका आधारमा कार्यालयले मङ्सिर मसान्तसम्ममा काम सम्पन्न गर्ने छ । विसं २०६८ को जनगणना अनुसार बझाङ जिल्ला भरीको जनसंख्या करिब १ लाख ९४ हजार जिल्लाको जनसङ्ख्या छ ।

प्रकाशित मिति : २९ भाद्र २०७८, मंगलवार १७:४६