सूचनाको शक्ति - The Power Of Information

        

समाचार

तीन दशकदेखि बाढीपीडितको जङ्गलमै बास

फाइल तस्वीर

बाँके । बाँकेका बाढीपीडितको पुनःस्थापना हुन नसक्दा तीन दशकभन्दा बढी समयदेखि उनीहरू जङ्गलमै बसोबास गरिरहेका छन् । बाँकेमा २०४४ सालको बाढीबाट विस्थापित भएकासमेत अझै पुनःस्थापित हुन नसकेका छैनन् ।

पुनस्र्थापना नगरिँदा २०४४ सालयता पटकपटक आएको बाढीबाट विस्थापित भएकाहरू पनि वन क्षेत्रमा थपिँदै गएका छन् । अधिकांश बाढीपीडित सामुदायिक वनमा बस्दै आएको डिभिजन वन कार्यालय बाँकेले जनाएको छ । बाँकेका तीन हजार ६०० घरपरिवार अहिले पनि वन क्षेत्रमै बसिरहेका छन् ।

डिभिजन वन कार्यालयका सूचना अधिकारी गणेशबहादुर खड्काका अनुसार प्रत्येक वर्ष बाँकेको राप्ती नदी तथा खोलाको आसपासका बस्तीमा बाढी पसेपछि स्थानीय बासिन्दालाई सामुदायिक वन क्षेत्रमा सुरक्षित राखिँदै आएको र त्यसपछि उनीहरूको बसोबासको व्यवस्था नगरिँदा वन अतिक्रमण बढ्दै गएको छ ।

डिभिजन वन कार्यालयको तथ्याङ्कअनुसार हाल बाँके जिल्लाको कुल ५७५.७२ हेक्टर वनक्षेत्र अतिक्रमणमा छ । अतिक्रमण गरी बनेका कुल घरटहरा सङ्ख्या तीन हजार ९९० रहेको र त्यसमध्ये करिब ४२ प्रतिशत वन क्षेत्र गैरबाढीपीडितले अतिक्रमण गरेको पनि कार्यालयका सूचना अधिकारी खड्काले बताए ।

कार्यालयका सूचना अधिकारी खड्काका अनुसार विपतका बेला स्थानीय स्तरमा सर्वदलीय राजनीतिक निर्णयका आधारमा जङ्गल क्षेत्रमा पीडितलाई स्थान्तरण गरिए पनि पुनःस्थापनाका लागि अर्को निर्णय हुन नसक्दा समस्या भइरहेको छ ।

बाढीबाट विस्थापितलाई व्यवस्थापन गर्न अब राष्ट्रियस्तरबाट नै सम्बोधन हुनुपर्ने राप्तीसोनारी गाउँपालिका–६ का वडाध्यक्ष जनकबहादुर थारूको भनाइ छ । बाँकेमा बाढीबाट सबैभन्दा बढी प्रभावित राप्तीसोनारीको ६ नम्बर वडा रहेको बताउँदै वडाध्यक्ष थारूले वैकल्पिक बसोबासको व्यवस्था नहुँदासम्म जङ्गलमै भए पनि सुरक्षित बस्न पाउने उनीहरूको अधिकार भएको बताए ।

अधिकांश बाढीपीडित राप्तीसोनारी–६ को सिद्धेश्वर सामुदायिक वनमा घरटहरा बनाएर बसोबास गरिरहेका छन् । वि.सं. २०६० मा राप्ती नदीमा आएको बाढीले घरटहरा सबै बगाएपछि राप्तीसोनारी–६, जोरैयाका मालुराम थारूसहित उनको टोलका मात्रै २० परिवार सिद्धेश्वर सामुदायिक वनमा बसिरहेका छन् ।

प्रकाशित मिति : २७ भाद्र २०७८, आइतवार ०७:४१