सूचनाको शक्ति - The Power Of Information

        

कर्णाली करिडोरको सिमकोट–खार्पु सडक खण्ड अवरुद्ध

काठमाडौं । कर्णाली करिडोरको सिमकोट–खार्पु सडक खण्ड अवरुद्ध भएको छ। सडकमा स्याम्ने खोला पसेपछि एक हप्तादेखि उक्त सडक खण्ड अवरुद्ध हुँदै आएको हो।

वर्षा बढेसँगै स्याम्ने खोलाको पानी सीधै कच्ची सडकमा पसेको छ। खोला सडक भएर बगेको छ। सडकका धेरै ठाउँमा चिरा परेको छ। खोलाको पानीले करिब तीन सय मिटर सडक बगाएको स्थानीय धनराज शाहीले बताए ।

उनका अनुसार खोलाको पानीले सडकमा क्षति पुगेकाले एक हप्तादेखि सडक अवरुद्ध छ। चिरा परेको सडकमा यातायात सञ्चालन गर्न सम्भव नभएको गाडी चालक सिंगम भण्डारी बताउँछन्।

सडक क्षतिग्रस्त हुँदा पनि मर्मत गर्न सरोकारवाला निकाय मौन रहेको उनले गुनासो गरे। क्षतिग्रस्त सडक सिमकोट गाउँपालिका, पूर्वाधार विकास कार्यालय र हिल्सा सिमकोट सडक आयोजनामध्ये कसले मर्मत गर्ने अन्योल रहेको स्थानीय बताउँछन्।

सडक अवरुद्ध भएपछि सर्वसाधारण पैदल हिँड्न बाध्य हुँदै आएका छन्।

प्रकाशित मिति : २३ भाद्र २०७८, बुधबार १०:३८