सूचनाको शक्ति - The Power Of Information

        

कोरोना महामारी

नेपालमा १५.४ प्रतिशतलाई कोरोनाविरुद्धको पूर्ण खोप, १७.९ प्रतिशतलाई पहिलो डोज

फाइल तस्वीर

काठमाडौं । नेपालमा बुधबारसम्म एक करोड ९२ हजार १६४ डोज कोरोना विरुद्धको खोप लगाइसकिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार यसमध्ये पूर्ण खोप लगाउनेको संख्या ४६ लाख ६७ हजार ३२८ रहेको छ ।

पहिलो मात्रा खोप लगाउनेको संख्या ५४ लाख २४ हजार ८३६ रहेको मन्त्रालयले जनाएको छ । नेपालमा हालसम्म कोरोनाविरुद्धको खोप लगाउने लक्षित जनसंख्याको १५.४ प्रतिशतले पूर्ण खोप लगाइसकेको छ । स्वास्थ्य मन्त्रालयका अनुसार १७.९ प्रतिशतले पहिलो डोज लगाइसकेको छ ।

नेपालमा कोरोनाविदरुद्धको खोप लगाउने लक्षित जनसंख्या २ करोड १७ लाख ५६ हजार ७६३ हो । जुन नेपालको कुल जनसंख्याको ७१.६ प्रतिशत हो । सरकारले खोप लगाउने अभियान जारी रहेको जनाएको छ । चैत मसान्तसम्म लक्षित सबै नागरिकलाई कोरोनाविरुद्धको खोप लगाइसक्ने सरकारको दाबी छ ।

प्रकाशित मिति : १७ भाद्र २०७८, बिहीबार ०७:५५