सूचनाको शक्ति - The Power Of Information

        

समाचार

नेपालगन्ज मेडिकल कलेज बिक्री, कर्मचारी कटौती नयाँ ब्यवस्थापनको प्राथमिकतामा

‘जो कर्मचारीले सबैभन्दा बढी तलब सुविधा लिन्छ, उ हाजिर गरेर राजनीतिमा समय बिताउँछ । मैले उनीहरुलाई कडाई गरेर काममा लगाउन सकेन, त्यसकारण मेडिकल कलेजलाई सुधार्न नयाँ ब्यवस्थापक आउन जरुरी भयो ।’

बाँके । लर्डबुद्ध एजुकेशनल एकेडेमीले सञ्चालन गरेको नेपालगन्ज मेडिकल कलेजमा नयाँ ब्यवस्थापन फेर्ने तयारी गरिएको छ । नोबेल र केएमसी मेडिकल कलेजका सञ्चालकसमेत रहेका प्रतिष्ठित ब्यवसायी सुनिल शर्माले नेपालगन्ज मेडिकल कलेजको शेयर बढाएर नयाँ ब्यवस्थापनको जिम्मेवारी सम्हाल्ने भएका हुन् ।

उक्त कलेज बिक्री हुन थालेको हल्ला चलिरहेकै बेला ब्यवसायी शर्माले करिव ४२ प्रतिशत शेयर बढाएर ब्यवस्थापनको जिम्मेवारी सम्हाल्ने निश्चित भईसकेको कलेज प्रशासनले पुष्टी गरेको छ । नेपालगन्ज मेडिकल कलेजका प्रबन्ध निर्देशक डा. सुरेशकुमार कनोडियाले आफ्नो शेयर बढाएर शर्माले नै सम्पूर्ण ब्यवस्थापन सम्हाल्ने तयारी भइरहेको बताए ।

‘मेडिकल कलेजको शेयर खरिद र बिक्री गर्ने प्रक्रिया सामान्य हो, पुराना शेयर धनीले छाड्छन्, नयाँ आउँछन्, सुनिल जीले शेयर बढाएर ब्यवस्थापन आफै हेर्नु हुनेछ,’ उनले भने । प्रबन्ध निर्देशक डा.कनोडियाका अनुसार हाल नेपालगन्ज मेडिकल कलेजमा करिव ७० जना शेयर सदस्य रहेका छन् ।

यसअघि सबैभन्दा बढी शेयरमा (करिव १६ प्रतिशत) कनोडिया परिवारको वर्चश्व रहेको थियो । यस्तै नयाँ ब्यवस्थापन सम्हाल्न लागेका शर्माको यसअघि ३ प्रतिशत मात्र शेयर रहेकोमा बढाएर ४२ प्रतिशत जति पुग्ने कनोडियाले सुनाए । केही सदस्यले बिक्री गरेको शेयर थपेर शर्माले मेडिकल कलेजको ब्यवस्थापन सम्हाल्न लागेको उनी बताउँछन् ।

कलेजमा कार्यरत कर्मचारीले कामभन्दा बढी राजनीति गर्दा आफूले सञ्चालन गर्न नसकेको कनोडियाले बताए । ‘जो कर्मचारीले सबैभन्दा बढी तलब सुविधा लिन्छ, उ हाजिर गरेर राजनीतिमा समय बिताउँछ,’ उनले भने, ‘मैले उनीहरुलाई कडाई गरेर काममा लगाउन सकेन, त्यसकारण मेडिकल कलेजलाई सुधार्न नयाँ ब्यवस्थापक आउन जरुरी भयो ।’

यसका साथै मेडिकल कलेजमा दक्ष जनशक्ति र गुणस्तरीय उपकरण जडान गरी नेपालकै नमुना बनाउनका लागि पनि अनुभवी ब्यवस्थापकको खाँचो परेको प्रबन्ध निर्देशक डा.कनोडिया बताउँछन् । मेडिकल कलेजभित्र आवश्यकभन्दा बढी कर्मचारी हुँदा संस्था घाटामा गइरहेको प्रबन्ध निर्देशक डा.कनोडियाले सुनाए ।

‘मेडिकल कलेजको क्षेत्रमा उहाँ (सुनिल)को राम्रो अनुभव छ, त्यसकारण कलेजको सुधारका निम्ति पनि नयाँ ब्यवस्थापन चाहिएको हो,’ उनल थपे । शेयर खरिद÷बिक्रीको सम्पूर्ण प्रक्रिया करिव दुई महिनाभित्रमा टुंगिने मेडिकल कलेज प्रशासनले जनाएको छ । कलेजमा नयाँ ब्यवस्थापन आउने निश्चित भएपछि हाजिर मात्र लगाएर तलब खाने कर्मचारी यतिबेला तनावमा छन् ।

स्रोतका अनुसार ब्यवस्थापन परिवर्तन भएलगत्तै कलेजभित्र रहेका कर्मचारी कटौती गर्ने आन्तरिक तयारी छ । ‘पहिलो चरणमा हाजिर लगाएर तलबमात्रै खाने कर्मचारी र लेखा, प्रशासन, स्टोर लगायत कामको जिम्मेवारी सम्हालेका ब्यक्तिलाई हटाउने तयारी छ,’ स्रोतले भन्यो । कलेजमा नयाँ ब्यवस्थापन फेरिन लागेको हल्ला चलेपछि कार्यरत कर्मचारीले तलब, भत्ता नपाएको भन्दै आन्दोलन गरिरहेका छन् ।

आफूहरुले ३ देखि ४ महिनाको तलब, भत्ता नपाएको आन्दोलनरत कर्मचारीको गुनासो छ । आन्दोलन स्वरुप उनीहरुले प्रबन्ध निर्देशकको कार्यकक्ष, प्रशासन लगायत कक्षमा तालाबन्दी गरिदिएका छन् । बाँकेको चिसापानीमा दुई दशकभन्दा बढी समयदेखि एमबिबिएस पढाईका साथै कलेजले नेपालगन्ज र कोहलपुरमा शिक्षण अस्पताल सञ्चालन गर्दै आएको छ ।

कलेजमा १ हजार २०० भन्दा बढी कर्मचारी कार्यरत रहेको बताइएको छ । कलेजमा अध्ययन गर्न नेपालका साथै भारत, बंगलादेश लगायत देशबाट विद्यार्थी आउँछन् । कलेजले सञ्चालन गरेको शिक्षण अस्पताल कोहलपुर र नेपालगन्जमा पश्चिम क्षेत्रका नागरिक उपचारका लागि आउने गर्छन् । (नागरिक न्युज)

प्रकाशित मिति : ६ श्रावण २०७८, बुधबार ०८:२७